बजेटमा जलवायु परिवर्तनको मुद्दाले महत्व पाउने उर्जामन्त्रीको दाबी

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि सरकारले लागिपरेको दाबी गरेका छन् ।
विश्व मौसम दिवसको अवसरमा आज काठमाडौँ आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनले पुर्याउने असरप्रति सरकार संवेदनशील रहेको बताए । सरकारले पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने काम गरिरहेको मन्त्री खड्काको जिकिर छ ।
'जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका साथै हिमनदीहरुको संरक्षण समयमै पूर्वसूचना प्रणाली र सुदृढिकरण र जोखिम न्यूनीकरणका उपायहरु अघि बढाउनु हाम्रो प्राथमिकतामा पर्नेछ', उनले भने ।
हिमनदीहरु क्रमशः साना हुँदै गइरहेको र नदी प्रणाली, जलविद्युत आयोजना, कृषि, पर्यटन क्षेत्र र जैविक विविधतामा जलवायु परिवर्तनको प्रभाव देखिएको मन्त्री खड्काले बताए । यसप्रति अहिले नै गम्भीर नहुने हो भने भविष्यमा जलश्रोतमा ठूलो चुनौति आउनसक्ने उनको अनुमान छ ।
'नेपालका हिमनदीहरु जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका छन् । वैज्ञानिक अध्ययनहरुले स्पष्ट देखाएको छ की नेपालको हिमताल फुट्ने र हिमनदीहरु पग्लिने दर बढ्दो छ । यसले निम्त्याउने सम्भावित जोखिमहरु उच्च छन् । हाम्रा हिमनदीहरु क्रमशः साना हुँदै गइरहेका छन्', खड्काले भने, 'यसको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको छ । हामीले भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गरी यदी अहिले नै उचित तयारी शुरु गरेनौँ भने भविष्यमा नेपालको जलश्रोतमा गम्भीर चुनौति आउनसक्छ ।’
जलवायु परिवर्तनका जोखिमलाई ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने उनले प्रतिवद्धता जनाए । त्यस्तै, हिमनदी संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहकार्य गर्न सरकार अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्दै अघि बढिरहेको मन्त्री खड्का बताउँछन् ।
टिप्पणीहरू