प्रेस चौतारीमा सहमति र निर्देशन पालनाको सम्भावना समाप्त

प्रेस चौतारीमा सहमति र निर्देशन पालनाको सम्भावना समाप्त
सुन्नुहोस्

भावी नेतृत्वलाई लिएर चर्किएको विवाद अनि त्यसले सृजना गरेको आशंका र अनेकथरी अनुमानका बीच एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालको दशौँ महाधिवेशन आजदेखि शुरु हुँदैछ । 

कोशी प्रदेशको राजधानी विराटनगरस्थित होटल मनास्लु इनमा आज दिउँसो महाधिवेशन उदघाटन गर्ने कार्यसूची छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन मातृ पार्टीका अध्यक्ष केपी शर्माले नभई महासचिव शंखर पोखरेलले गर्ने छन् ।

प्रमुख अतिथिको रुपमा अध्यक्ष ओलीबाट महाधिवेशन उद्धघाटन गराउने आयोजकको तयारी थियो । त्यहीअनुसार व्यापक प्रचार प्रसार गरिएको थियो भने ठाउँ-ठाउँमा ओलीले हात उठाएको फोटो अंकित तुल-ब्यानर टाँगिएको छ । 

महाधिवेशनस्थल प्रवेशद्वारमा निर्माण गरिएको स्वागत गेटमा 'प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनमा पाल्नुहुने प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री एवं नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीसहित अतिथि, प्रतिनिधि,पर्यवेक्षकलगायत सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौँ ' 

ओलीको ठूलो फोटोसहितको स्वागत गेट र प्रचार सामग्री बनाइएको भएता पनि कार्य व्यस्तता देखाएर ओलीले विराटनगर नजाने बताएपछि महासचिव शंकरले उद्धघाटन गर्नुपर्ने भएको हो । चौतारीको आगामी अध्यक्षमा बालुवाटारको रुचिअनुसार अगाडि सारिएका पात्र सर्वसम्मत हुने अवस्था क्षीण हुँदै गएको दाबीका बीच अन्तिम घडीमा महाधिवेशन उद्घाटन गर्न नजाने ओलीको निर्णयलाई अर्थपूर्ण मानिएको छ ।

चौतारीको आगामी अध्यक्षमा बालुवाटारको रुचिअनुसार अगाडि सारिएका पात्र सर्वसम्मत हुने अवस्था क्षीण हुँदै गएको दाबीका बीच अन्तिम घडीमा महाधिवेशन उद्घाटन गर्न नजाने ओलीको निर्णयलाई अर्थपूर्ण मानिएको छ ।

चौतारीको नयाँ नेतृत्वका लागि हालका उपाध्यक्ष गणेश पाण्डे,राजेश राई,लोक्सरी कुँवर र विनोद ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् । राईलाई अध्यक्ष बनाउने तयारीका साथ पाण्डेलाई प्रचार तथा प्रकाशन विभाग सचिव बनाइएको भनिएको थियो । ओली आफैले नेताहरुलाई बालुवाटार बोलाएर उक्त निर्णय सुनाए पनि पछिल्लो समय प्राथमिकता फेरिएपछि दुई पक्षबीच किचलो चर्किएको छ । 

अघिल्लो साता जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल,प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र बस्नेतलाई बालुवाटार बोलाएर ओलीले छलफल गरी अन्तिममा पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन निर्देशन दिएका थिए ।   
यसअघि फागुन १६ गते  बालुवाटारमै बसेको पार्टी सचिवालय बैठकले भने पाण्डेलाई प्रचार विभाग सचिवमा लगेर चौतारीको अध्यक्ष राईलाई बनाउने भनेको थियो । 

ढकाल,गौतम र बस्नेतसँगको छलफलपछि उक्त निर्णय सुनाएका ओलीले लगत्तै बसेको सचिवालय बैठकमा सोही प्रस्ताव राखेको र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले 'उहाँलाई किन त्यता' भनी असन्तुष्टि जनाउँदासमेत 'अहिलेको आवश्यकता' भन्दै स्वयं ओलीको मुखबाट राजेशलाई अध्यक्ष,हिरामानलाई उपाध्यक्ष र चेतनलाई महासचिव बनाउने भनिएको श्रोतको दावी छ । 

यसरी रातारात नेतृत्वले कुरा फेरेपछि असन्तुष्टि बढेको र अन्य जनसंगठनमा जस्तै सर्वसम्मत गराउने नाममा माथिबाट निर्णय लादिए एउटा पक्ष बहिष्कारको तहमा पुग्ने दाबी नेताहरुले गरेका छन् ।

टिप्पणीहरू