एकैचोटि ठूलो संख्यामा प्रशिक्षक नियुक्त गर्दै राखेप

एकैचोटि ठूलो संख्यामा प्रशिक्षक नियुक्त गर्दै राखेप

राष्ट्रिय खेलकुद परिषद्ले ठूलो संख्यामा स्वयंसेवक प्रशिक्षक नियुक्त गर्न लागेको छ । 

राखेपले आज सार्वजनिक सूचना निकालेर एकसय बढी प्रशिक्षकका लागि दरखास्त खुलाएको हो । नजिकिँदो ‘दशौं राष्ट्रिय खेलकुद- २०८२’ प्रतियोगितामा समावेश भएका खेलको प्रशिक्षण र पूर्वतयारीका लागि पर्याप्त प्रशिक्षक नभएको तथा न्यून संख्यामा प्रशिक्षक रहेका खेलका लागि अर्थ मन्त्रालयबाट प्राप्त बजेट र नम्सको आधारमा सातै प्रदेशका लागि स्वयंसेवक प्रशिक्षक नियुक्त गर्न लागेको सूचनामा उल्लेख छ । 

आर्चरीमा पाँच, ब्याडमिन्टनमा तीन, बास्केटबलमा तीन, शारीरिक सुगठनमा दुई, बक्सिङमा दुई, क्रिकेटमा चार, साइक्लिङमा चार, फेन्सिङमा चार, गल्फमा दुई, जिम्न्यास्टिकमा दुई, ह्याण्डबलमा पाँच, हक्कीमा पाँच, आईटिएफ तेक्वान्दोमा पाँच, जुडोमा पाँच, कबड्डीमा चार जना प्रशिक्षक आवश्यक रहेको राखेपले जनाएको छ । 

यस्तै, खोखोमा सात, लन टेनिसमा तीन, रग्वीमा सात, सेपाकटाक्रोमा चार, सुटिङमा दुई सफ्ट टेनिसमा चार, स्क्वासमा दुई, पौडीमा तीन, टेबल टेनिसमा पाँच, ट्रायथलनमा तीन, भलिबलमा दुई, भारोत्तोलनमा चार र कुस्तीमा दुई जना प्रशिक्षक मागिएको छ । 

डिप्लोमा कोर्ष उत्तीर्ण वा सर्टिफिकेट लेबल कोर्ष, तीन महिने एनआईएस कोर्ष, अन्तर्राष्ट्रिय खेल संघ तथा महासंघद्धारा सञ्चालित प्रशिक्षक कोर्ष अथवा तीन महिना प्रशिक्षण कार्य अनुभव भएको वा एउटा अन्तर्राष्ट्रिय तथा दुई वटा राष्ट्रिय प्रतियोगितामा सहभागी जनाई स्वयंसेवकको रुपमा काम गरेको इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । 

हाल प्रदेश टिम तयारीमा संलग्न भई प्रशिक्षण गराइरहेका स्वयंसेवक प्रशिक्षकलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । स्वयंसेवक प्रशिक्षकलाई प्रतियोगिता अवधिभर प्रतिदिन एक हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराइनेछ ।

टिप्पणीहरू