श्रेय भारतलाई

श्रेय भारतलाई

ऊर्जामन्त्री दीपक खड्काले केही दिनदेखि भन्दै आउनुभयो– नेपालमा लोडसेडिङ जो हट्यो त्यसको श्रेय कुलमानलाई होइन, भारतलाई दिनुपर्छ । किनभने भारतले बिजुली दिएकै कारण हाम्रो लोडसेडिङ हटेको हो । बिजुली दिने भारत, अनि श्रेय लिने कुलमानले ?

ऊर्जामन्त्रीले यसो भनिरहँदा धेरैले उहाँलाई गाली गरे । केपी ओलीले तारिफ गरेको थाहा छैन, धेरैले चाहिँ गाली नै गरेका छन् । ऊर्जामन्त्रीले यति धेरै भनिसकेपछि कुलमानलाई त हटाउनै पर्‍यो । हटाइयो पनि । हटाउन सफल भएकैले ऊर्जामन्त्रीको इज्जत बचेको छ । यदि, हटाउन नसकेको भए इज्जत जानेवाला थियो । अर्थात् यसले गर्दा ऊर्जामन्त्रीको लाज जोगियो भन्नुपर्ला ।

तर, ऊर्जामन्त्रीको लाज जो जोगियो नि, त्यसको श्रेयचाहिँ भारतलाई नै दिनुपर्छ है । अरुलाई दिन मिल्दैन । किनभने लाज छोप्न ऊर्जामन्त्रीले कट्टु जो लगाउनुभएको छ नि, त्यो पनि भारतबाटै आएको हो ।

भारतले कट्टु बनाएर नेपाल नपठाएको भए ऊर्जामन्त्रीको लाज छोपिन्थ्यो ? त्यसैले आफ्नो लाज बचेकोमा पनि ऊर्जामन्त्रीले भारतलाई नै श्रेय दिनुपर्छ । (क्षमा गर्नुहोला, ऊर्जामन्त्रीले लगाउनुभएको कट्टु चीनबाट आएको पनि हुन सक्छ । किनभने अहिले बजारमा चिनियाँ कट्टु पनि छ्यापछ्याप्ती छ । कसले कुन देशको कट्टु लगाएको छ भनी खोलेर हेर्न मिलेन । अतः ऊर्जामन्त्रीले चिनियाँ कट्टु लगाउनुभएको छ भने आफ्नो लाज बच्नुको श्रेय उहाँले चीनलाई पनि दिन सक्नुहुन्छ ।) कि कसो ?

टिप्पणीहरू