कस्तो संकेत हो यो एयरपोर्टका कर्मचारीको ?

कस्तो संकेत हो यो एयरपोर्टका कर्मचारीको ?

सरकार प्रमुखले भ्रष्टाचार हुन दिन्न भनिरहेकै बेला एक सरकारी कार्यालयले भने सर्कुलर नै पठाएर करोडौं भ्रष्टाचार गर्ने गरेको ‘क्लु’ भेटिएको छ । आकाशबाट विदेशिने तथा नेपाल भित्रिने यात्रुका राहदानीमा अनुमतिको छाप लगाउने अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले घुस उठाउन बनाएको चिर्कटो जनआस्थालाई प्राप्त भएको छ । बुँदागत रुपमा एकदेखि १४ नम्बरसम्म लेखी श्रमका लागि पर्यटन भिसामा कुन देश जाने यात्रुसँग कति पैसा लिने भनेर त्यसमा लेखिएको छ ।

पर्यटक भिसामा विदेशिएर उतै काम गर्ने नेपाली महिलालाई अंग्रेजी अक्षर एल र पुरुषलाई अंग्रेजी अक्षर एस संकेत गरिएको सो सर्कुलर गृह मन्त्रालयका एक उच्च अधिकारीको हातमा पनि पुगेको बताइएको छ । एक नम्बर बुँदामा पर्यटक भिसामा श्रमका लागि युएई र ओमानलगायत खाडी राष्ट्र जाने एल (महिला)सँग ४० हजार र एस (पुरुष)सँग २० हजार रुपैयाँ लिइने उल्लेख छ । दुई नम्बरमा सबै एसियाली देशमा जानेसँग महिला ४० र पुरुषका लागि २० हजार नै लिइने लेखिएको छ । तीन नम्बरमा अन्य युरोपियन सेन्जेन मुलुकमा पठाउँदा पनि माथिकै मूल्य लिइने उल्लेख छ ।

सर्कुलरको चार नम्बरमा पर्यटक भिसामा श्रम गर्न पूर्वी युरोप उड्ने नेपाली महिला तथा पुरुष दुवैथरीसँग ४०/४० हजार रुपैयाँ लिइने संकेत छ । पाँच र छ नम्बर बुँदामा युरोपमा श्रमका लागि र युरोप सी श्रम उल्लेख गरी प्रतिव्यक्ति महिला/पुरुष दुवैथरीसँग १०/१० हजार लिइने लेखिएको छ । यसैगरी सात र आठ नम्बरमा क्रमशः कमन आइल्याण्ड श्रम र सीमा श्रममा जानेहरूका लागि पनि २०/२० हजारको दर तोकिएको छ । नौ, दश र एघार नम्बरमा क्रमशः अफ्रिका प्लस साइप्रस, कम्बोडिया र अजरबैजान कमन आइल्याण्डसमा जाने श्रमिकसँग लिइने दर पुरुष तथा महिला सबैसँग प्लस १० हजार उल्लेख गरिएको छ । यो भनेको माथि महिलालाई ४० हजार र पुरुषसँग २० हजार लिइनेमा यसैमा थप १० हजार लिइने भनिएको हो । 

कानुनी प्रावधानका कमजोर पक्षको प्रयोग गरी युएसए, क्युबा, पेरु, चिली, ब्राजिल, कोष्टारिकामा कामका लागि उड्न लागेकाहरू सबैसँग प्रतिव्यक्ति ८० हजारको दर १२ नम्बरमा उल्लेख छ । १३ मा भारत हुँदै जाने कुन देश जाने हो सोअनुसार पैसा असुलिने सांकेतिक भनाइ राखिएको छ । यसको मतलब भारत हुँदै अरु देश जानेहरूलाई पनि पैसा नलिई अनुमती नदिइने भनिएको अध्यागमन विभाग श्रोतले खुलाएको छ । र, १४ नम्बरमा भने इभी हटाउन निरुत्साहित गर्ने भनी लेखिएको छ । यसको अर्थ श्रमबाट स्वीकृति नलिएकालाई भरसक नपठाउने भन्ने हो । 

नेपालले खाडी राष्ट्रहरूसँग श्रम सम्झौता गरेको छ । त्यहाँ कामका लागि जाँदा श्रम कार्यालयबाट स्वीकृति लिएर वैधानिक रुपमा जान सकिन्छ तर सरकारी निकायसँगको मिलोमतोमा बिचौलिया, ट्राभल एजेन्सी र कतिपय अध्यागनका कर्मचारीकै अग्रसरतामा श्रमका लागि पर्यटक भिसामा नेपालीलाई पठाउने धन्दा फेरि मौलाएको छ । श्रम सम्झौता भएका मुलुकमा पर्यटकका रुपमा पठाउँदा अतिरिक्त १० हजार थपेर अध्यागमनका कर्मचारीले लिने गरेको विभाग श्रोतको दावी छ । अहिले मुख्यतः बहराइन, दुबई, ओमान हुँदै कुबेतमा घरेलु कामदारालाई पर्यटकीय भिसामा पठाउने गरिएको छ । यसमा ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुषहरू हुने गरेका छन् । हाल दैनिक अढाईदेखि ३ सयसम्म नेपालीलाई पर्यटकीय भिसामा श्रमका लागि अध्यागमनले शुभलाभ हासिल गरी उड्न स्वीकृति दिने गरेको विभाग श्रोतले उल्लेख गरेको छ ।

भारतीय उडाउने कर्मचारी फिर्ता

अघिल्लो हप्ता अध्यागमनका कर्मचारीको मिलेमतोमा एक कालोसूचीको भारतीय नागरिकलाई रामै्र लाभ हासिल गरी उडान अनुमति दिइयो । यसको सुइँको तत्काल प्रहरीले पायो र उड्नुअघि नै पक्राउ गरियो । यसको भोलिपल्टै भारतीय राजदूतले गृह मन्त्रालयमै पुगी मन्त्री रमेश लेखकसमक्ष असन्तुष्टि प्रकट गरे । लगत्तै ती नागरिकलाई उडान अनुमति दिने कार्यमा संलग्न डिओ (डिपार्चर अधिकृत) सहितका कर्मचारीलाई फिर्ता गरिएको छ । त्यसपछि पनि सामान्य भारतीय नागरिकसँग प्रतिव्यक्ति ५० हजारभन्दा बढी असुल गरी ४ दर्जन बढीलाई अध्यागमनका कर्मचारीले विदेश प्रस्थान अनुमति दिएका छन् । अहिले भारतीय, बंगलादेशगायतका नागरिकहरूसँग पनि शुभलाभ हासिल गरी अर्को देश उडाउने क्रममा बढोत्तरी भएको अध्यागमन श्रोतले उल्लेख गरेको छ । 
 

टिप्पणीहरू