प्रधानमन्त्रीलाई पालैपालो माओवादी र एमालेको पत्र
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आगामी जेठमा हुने ‘सगरमाथा संवाद’ कार्यक्रमलाई सबैको साझा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।
पार्टीको वातावरण तथा जलवायु विभागको टोली आज सिंहदरबार पुगेर उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई पत्र बुझाएको हो । जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य भएपनि सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित राख्न खोजिएको माओवादीको गुनासो छ ।
सरकारले विपक्षी दलहरुसँग छलफल नगरेको भन्दै सो पार्टीले साझा अवधारणा तयार गर्नुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री ओलीले पनि पत्र बुझ्दै राष्ट्रिय महत्वको कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षले एक्यबद्धता जनाउनुपर्ने भन्दै चाँडै छलफलको लागि पत्राचार गरिने बताएका छन् ।
त्यस्तै, प्रधानमन्त्री ओलीले आजै आफैं अध्यक्ष रहेको नेकपा (एमाल)को तर्फबाट प्रस्तुत अर्को एउटा पत्र पनि ग्रहण गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सरकारलाई दिइएको सुझावसहितको पत्र उहाँले बुझ्नुभएको हो ।
सुझाव पत्र पेश गर्न पार्टी महासचिव शंकर पोखरेलसहितका नेताहरु अपराह्न सिंहदरबार पुगेका थिए ।
टिप्पणीहरू