राजा लिएर जाऊ

वास्तवमा राजा नेपालीलाई मात्र होइन, विदेशीलाई पनि उत्तिकै चाहिएको रहेछ । सबैभन्दा बढी त उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई चाहिएको रहेछ । उनले कुनचाहिँ ठाउँमा हो कुन्नि, नेपालमें तो राजा चाहिए हि चाहिए भनेर भाषण पनि गरेका छन् रे !
नेपालमा जम्मा सात वटा प्रदेश छन् । कुनै पनि प्रदेशको मुख्यमन्त्रीले राजा चाहिन्छ भनेका छैनन् । राजा चाहिन्छ भन्ने मुख्यमन्त्री आदित्यनाथ मात्रै हुन् । तर विडम्बना, आदित्यनाथ नेपालको कुनै पनि प्रदेशका मुख्यमन्त्री होइनन् । जो मुख्यमन्त्री नेपालको कुनै प्रदेशको होइन, उसलाई राजा चाहियो भन्दैमा कसरी दिने ? अब उनलाई साँच्चै राजा नै चाहिएको हो भने सबैभन्दा पहिले त उत्तरप्रदेशलाई नेपालको आठौं प्रदेश घोषणा गर्नुपर्यो । उत्तरप्रदेश नेपालको आठौं प्रदेश बन्यो भने नेपालमा राजा आएपछि त्यो आदित्यनाथको पनि राजा हुनेछ । नत्र भने कसरी हुन्छ ?
नेपालमा तत्काल राजा आउने सम्भावना छैन । तर, आदित्यनाथलाई अहिले नै राजा चाहिएको हो भने उनले हाम्रा ज्ञानेन्द्र शाहलाई बरु आफ्नै प्रदेशमा लगेर राजा बनाए हुन्छ । सकिन्छ भने भारतकै राजा बनाए पनि हुन्छ । सकिँदैन भने उत्तरप्रदेशकै मात्र भए पनि राजा बनाए बेस् । भारतका सबै प्रदेश गणतान्त्रिक भए पनि उत्तरप्रदेश एउटा राजतान्त्रिक हुनेछ । ज्ञानेन्द्र शाह उत्तरप्रदेशको राजा हुनुहुनेछ, आदित्यनाथ त्यहाँको मुख्यमन्त्री । एकातिर आदित्यनाथ, अर्कोतिर पशुपतिनाथ । दुई नाथ मिलेपछि उत्तरप्रदेशको पनि कल्याणै होला ।
यतिबेला नरेन्द्र मोदीले राजा चाहिन्छ भनेको त्यति सुनिँदैन । उनलाई राजा चाहिएको हो भने उनले पनि ज्ञानेन्द्र शाहलाई नै लगे हुन्छ । सकिन्छ भने पूरा भारतकै राजा बनाउनुस्, नसके नयाँदिल्लीको भए पनि राजा बनाउनु । नरेन्द्र मोदी र आदित्यनाथ दुवैलाई राजा चाहिएको हो भने नयाँदिल्ली र उत्तरप्रदेशमा ज्ञानेन्द्र शाहलाई आलोपालो राजा बनाए पनि हुन्छ । अथवा हामीसँग एक जगेडा राजा छन्, पारस शाह । पारस शाहलाई उत्तरप्रदेश लानुस् । ज्ञानेन्द्र शाहलाई नयाँदिल्ली जानुस् । यसरी सन्तुलन मिलाए पनि हुन्छ । के छ यसमा योगीजीको विचार ?
टिप्पणीहरू