गभर्नर नहुँदा सुनका पदक अलपत्र

गभर्नर नहुँदा सुनका पदक अलपत्र

सरकारले गभर्नर नियुक्त गर्न नसक्दा केन्द्रीय बैंकका काम कारबाही प्रभावित भएको छ । यसअघिका गभर्नर महाप्रसाद अधिकारीले चैत २४ गते अवकाश पाएपछि कायम मुकायमको जिम्मेवारी डेपुटी निलम ढुंगाना तिम्सिनालाई दिइएको छ । डेढ दर्जन बढी विभाग र अर्को एक दर्जन कार्यालय तथा महाशाखा सबैको जिम्मेवारी डेपुटी बमबहादुर मिश्रले हेर्दैछन् । कायम मुकायम गभर्नरको हैसियत  प्रशासनिक निर्णय र सञ्चालक समितिको बैठकका लागि मात्रै हुनुपर्नेमा तिम्सिना फरक हिसाबले प्रस्तुत भएपछि सबै काम लथालिङ्ग भएको बताइन्छ । 

नाम उल्लेख नगर्ने शर्तमा प्रभावशाली ठानिएको एक विभागका कार्यकारी निर्देशक भन्छन्, ‘म्याडम गभर्नरको दौडमा देखिनुहुन्छ । कार्यालयको सबैजसो काम पेण्डिङ छ । आगामी साता बैंकको वार्षिकोत्सवका निम्ति धेरै काम गर्नुपर्ने भएकाले तनावमा छौं । तर,बैंकको माथिल्लो तहलाई त्यसप्रति चासो छैन । औपचारिकताको निम्ति ‘कुनै काम नरोकियोस्’ भनी निर्देशन दिने कामबाहेक नीतिगत निर्णय ठप्प छ ।’ उनका अनुसार शुक्रबार कार्यकारी निर्देशक गुणाकर भट्टले राजीनामा दिएपछि उनी बिहानको हाजिरी गरेर कार्यालयबाट बाहिरिने गरेकी छन् । ‘आज पनि त्यस्तै अवस्था छ’ उनी भन्छन्, ‘ अर्का डेपुटी बमबहादुर मिश्र सामाजिक कार्यमा गृह जिल्ला झापा पुग्नुभएको छ । म्याडम कहाँ जानुभएको कसैलाई पत्तो छैन । बैंकमा दुई दशक नाघेको जागिरे जीवनमा वार्षिकोत्सव अगाडिको माहौल यति भद्रगोल देखेको पहिलो पटक हो ।’ 

अधिकारीको अवकाशपछि यसअघि चैत मसान्तको दिन सञ्चालक समितिको बैठक बसेको थियो । त्यो पनि पूर्व गभर्नर तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाका छोरीज्वाईं रामशरण खरेलको बढुवाका निम्ति । तर, चैत २५ गते कायममुकायमको जिम्मेवारी पाएकी तिम्सिनाले भोलिपल्ट नीति निर्देशन समितिको बैठक डाकिन् । आफूभन्दा मुन्तिरका कर्मचारी भेला गरेर ठेकेदार कम्पनी र केही बैंकलाई चैत मसान्तको वित्तीय विवरणमा सहज हुने निर्णय गराइन् ।

यता,बैंकले १४ गते मनाउने वार्षिकोत्सव समारोहवीच यो वर्ष छ जना अधिकृतलाई २० वर्षे सेवा उपहार र प्रमाणपत्र प्रदान गरिँदैछ । सेवा उपहारमा वरपर चाँदी र बीचमा सुनको सिक्का राखिन्छ । त्यसैगरी दर्जनौंलाई विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ । तर, अहिले कायम मुकायम गभर्नरको हस्ताक्षरमा ती प्रमाणपत्र तथा धातुका उपहार बनाइएको अवस्थामा कथमकदाचित १४ गते बिहानसम्म नयाँ गभर्नर नियुक्त भए सबै सामाग्री खेर जाने भएकाले ती काम हुन नसकेको बताइन्छ । सम्पत्ति व्यवस्थापन विभागका एक जना अधिकृत भन्छन्, ‘के गर्ने के नगर्ने भन्ने अवस्थामा छौं । यो कुरो म्याडमलाई सुनाउन पनि भएन । उहाँ नै गभर्नर हुने हो वा कायम मुकायमले त्यो दिनसम्म बैंक चलाउने वा अरु कोही गभर्नर बनेर आउने भन्ने निक्र्योल नहुँदा सबै अलमलमा छौं ।’

टिप्पणीहरू