प्यान र इमेल अद्यावधिक गराउन एनआईसीको आग्रह
एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण प्यानमा आबद्ध गराउनुपर्ने भएकोले अद्यावधिक गर्न अनुरोध गरिएको हो ।
बैंकका अनुसार ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा रहेको प्यान अपडेट अथवा नजिकको जुनसुकै शाखा कार्यालयमार्फत आफ्नो खातामा प्यान अद्यावधिक गराउन सक्नेछन् । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई इटिडिएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहन्छ ।
अद्यावधिकपछि ग्राहकको करकट्टीको विवरण प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुन्छ ।
तर, ग्राहकले प्यान अद्यावधिक नगराउँदा इटिडिएसमा ब्याजकर दाखिला नभएमा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेमा बैंक जिम्मेवार नहुने स्पष्ट पारिएको छ । बैंकले यसअघि प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएका वा इमेल अद्यावधिक नभएका ग्राहकलाई सम्पर्कमा आउन पनि अनुरोध गरेको छ ।
टिप्पणीहरू