नयाँ गभर्नर छान्ने जिम्मा निवर्तमान गभर्नरलाई !
गभर्नर नियुक्तिका लागि सरकारले चैत दोस्रो साता गठन गरेको सिफारिस समितिबाट सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । पूर्व गभर्नर भट्टराईले समितिको एउटा पनि बैठक नबसेको,बिचौलियाहरुले उम्मेदवार अघि सारेको समाचार बाहिरिएको बेला केन्द्रीय बैंकको सम्मानित पदलाई मजाक बनाइएको जनाउँदै राजीनामा दिएका हुन् ।
अब उनको स्थानमा सरकारले एक जना पूर्व गभर्नर नियुक्त गर्नुपर्ने बाध्यकारी अवस्था आइपरेको छ । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिमा अर्का सदस्य डा. विश्व पौडेल सदस्य छन् । गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने,त्यसअघि समितिले तीन जनाको नाम सिफारिस गर्नुपर्ने राष्ट्र बैंक ऐनको व्यवस्था छ । तर,सरकारले गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिनु अगावै त्यो काम गरेन । नयाँ गभर्नर नियुक्तिअघि सिफारिस समितिको बैठक एक महिनासम्म पनि नबसेपछि भट्टराईले राजीनामा दिएको बताए ।
यता गभर्नर नियुक्ति, उम्मेदवार छनौटको विषयमा बिचौलियादेखि अदालतसम्म जोडिएको छ । ऐनबमोजिम समितिले सिफारिस गरेका तीन जना योग्य व्यक्तिबाट गभर्नर नियुक्ति हुनुपर्नेमा यसबीच काँग्रेस र एमालेका शीर्ष नेताहरुले बाहिर बाहिरै सहमति गरेको विषयले पनि गभर्नर पदको मर्यादालाई सस्तो बनाइदिएको छ । बिचौलिया दिपक भटट्का प्लान १, प्लान २ र प्लान ३ सम्मका उम्मेदवारलाई बालुवाटार र बूढानीलकण्ठले हुन्न भन्न नसक्ने, पहिले विनोद चौधरीसँग घाँटी जोडिएका तर पछि नबिल बैंक छाड्न बाध्य ज्ञानेन्द्र ढुंगानाहरु साम, दाम र दण्ड भेदको नीति अंगाल्दै अदालत पुग्ने कुराले पनि विज्ञ र विद्वानहरु सशंकित भएका हुन् । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना आफूभन्दा कनिष्ठ डेपुटी वा कार्यकारी निर्देशकहरुलाई गभर्नर बनाउन नहुने भन्दै शक्ति केन्द्र धाउनुले पनि गभर्नर नियुक्तिको विषय गिजोलिएको बताइन्छ ।
गभर्नर नियुक्तिको विषय अदालतमा विचाराधीन रहेको भन्ने मसला पाएको सरकारसमक्ष आजदेखि सिफारिस समितिलाई पूर्णता दिनुपर्ने अर्को जिम्मेवारी थपिएको छ । एमाले निकट पूर्व गभर्नरहरुको सूचीमा यतिखेर सत्येन्द्रप्यारा श्रेष्ठ,युवराज खतिवडा र महाप्रसाद अधिकारी छन् । श्रेष्ठ शारीरिक रुपमा अशक्त भएकाले उनको सम्भावना छैन । खतिवडा प्रधानमन्त्रीको सल्लाहकार र पूर्व अर्थमन्त्री भइसकेकाले उनी आफैँ समितिमा जान इच्छुुक नरहेको बताइन्छ । यो हिसाबले अब सिफारिस समितिमा यसअघि विजयनाथ रहेको स्थान महाप्रसादले लिने लगभग निश्चित झैँ देखिन्छ ।
अधिकारीको प्रवेशले सिफारिस हुने आगामी तीन जनामा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएको अवस्थामा बाहेक निलम ढुंगानाको च्याप्टर लगभग क्लोज्ड हुने अवस्था छ । विगत चार वर्ष बैंकमा डेपुटी गभर्नरको हैसियतमा निलमका कामकारबाहीबारे जानकार अधिकारीले डेपुटीबाट अर्का बमबहादुर मिश्रलाई सिफारिस गर्ने सम्भावना प्रबल हुने निश्चित रहेको बताइन्छ ।
टिप्पणीहरू