पूर्वराजाका नातिलाई कलाकारितामा लाग्न प्रधानमन्त्रीको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रलाई कला क्षेत्रमा लागेर भविष्य उज्जवल बनाउन सल्लाह दिनुभएको छ ।
हृदयन्द्रलाई सिनेमा खेल्न सल्लाह दिँदा अभिनेत्री सुरक्षा पन्त राजावादीहरुको साइवर हमलामा परिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाई आएको हो । कलाकारितामा लागेर प्रगति गर्न सुझाउँदै प्रम ओलीले अब फेरि राजा हुने सपना देखेर जिन्दगी नबिगार्न आग्रह पनि गर्नुभयो ।
‘सुरक्षा पन्तजस्तो एउटा कलाकारले कति राम्रो भन्नुभएको छ हेर्नुस् त राम्रो अनुहार छ कला क्षेत्रमा आए हुन्छ । रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा ? त्यति राम्रो भनेको छ’, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘म पनि सुझाव दिन्छु, ति बाबु सिकेर कला क्षेत्रमा आएभने राम्रै हुन्छ । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ । त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन ।’
केही दिनअघि अभिनेत्री पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज शाहका छोरा हृदयन्द्रलाई आकर्षक अनुहार भएको भन्दै फिल्म इन्डस्ट्रीमा आए भविश्य राम्रो हुने धारणा राख्नुभएको थियो । उक्त व्यक्तिगत धारणालाई लिएर राजावादीहरु फिल्म बहिष्कार गर्नेसम्मको तहमा विरोधमा उत्रिएका छन् ।
प्रधानमन्त्री ओलीले स्वतन्त्र रूपमा आफ्नो विचार राख्दैमा कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताउनुभयो । समाजमा बढेको विकृति चिर्नको लागि कला क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँको जोड छ ।
कलाकारलाई बहिस्कार गर्दा केही फरक नपर्ने भन्दै ओलीले आफ्नो काममा लागिरहन आग्रहसमेत गर्नुभयो ।
टिप्पणीहरू