मन्त्री र सचिव विदेश जाने,प्रदेश प्रमुखले अमेरिकामा उपचार गर्ने

मन्त्री र सचिव विदेश जाने,प्रदेश प्रमुखले अमेरिकामा उपचार गर्ने

मन्त्रिपरिषद्का पछिल्ला दुई बैठकले दुई दर्जन बढी निर्णय गरेको औपचारिक जानकारी दिइएको छ । तीमध्ये छ वटा निर्णय विदेश भ्रमणसँग सम्बन्धित छन् । 

जेठ ६ गतेदेखि ९ गतेसम्म अजरबैजानको बाकुमा हुने भ्रष्टाचार विरोधी कानुन कार्यान्वयनसम्बन्धी सम्मेलनमा भाग लिन अख्तियार आयुक्त हरि पौडेललाई स्वीकृति दिइएको छ । त्यस्तै जेठ १३ गतेदेखि १७ गतेसम्म जापानमा हुने प्रतिआतंकवादसम्बन्धी छलफलमा भाग लिन राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई पठाउने निर्णय छ । थापासँगै निर्देशक टेकेन्द्र कार्की पनि जापान जाँदै छन् । यसवारे जनआस्थाले पहिले नै समाचार लेखिसकेको छ ।

जेठ १९ गतेदेखि २३ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने प्राकृतिक प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई स्वीकृति प्रदान गरिएको छ । स्विटजरल्याण्डमै जेठ २५ गतेदेखि ३१ सम्म हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन मन्त्री शरतसिंह भण्डारीलाई अनुमति दिइएको छ ।

क्याबिनेटले सञ्चार तथा सूचना प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको विदेश भ्रमण पनि स्वीकृत गरेको छ । 

उता कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी अमेरिकामा उपचार गराउन जेठ पहिलो साता जाने भएका छन् । उनी जेठ ५ गतेदेखि असार १३ गतेसम्म उतै बस्ने भनिएको छ । क्याबिनेटले प्रदेश प्रमुखको अनुपस्थितिमा कार्यवाहक प्रदेश प्रमुख तोक्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले जेठ ११ गतेदेखि १३ गतेसम्म क्यानडामा हुने जातियमुक्त विश्व सम्मेलनमा भाग लिन वन तथा वातावरण राज्यमन्त्री रुपा विकलाई पठाउने निर्णय गरेको छ ।

टिप्पणीहरू