अपराधीले खातामा जम्मा गरिदिएपछि निर्दोषलाई सास्ती

अपराधीले खातामा जम्मा गरिदिएपछि निर्दोषलाई सास्ती

ठगीको रकम अरुको खातामा जम्मा गरिदिएर निर्दोष व्यक्तिलाई फसाउने क्रम बढेको छ । यसबारे सचेत गराउँदै जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रहरीका अनुसार इमरजेन्सी वा आफन्त बिरामी परेको, एटीएम, मोबाइल बैंकिङ्ग बिग्रिएकोजस्ता विभिन्न बहानामा ठगी गर्ने र सो रकम अरुको खातामा जम्मा गराई आफूले नगद लिनेजस्ता घटना बढ्दो क्रममा छ । 

जारी सूचनामा भनिएको छ, ‘विभिन्न व्यक्तिलाई इमरजेन्सी परेको, आफन्त बिरामी परेको, एटीएक बिग्रिएको, मोबाइल बैंकिङ्ग बिग्रिएको, झुक्किएर गएछजस्ता बहाना बनाएर विभिन्न किसिमका अनलाइन ठगीका रकम सर्वसाधारण व्यक्तिको व्यक्तिगत वा व्यवसायिक खातामा जम्मा गराई आफूले नगद लिने गरेकोजस्ता घटना दिन प्रतिदिन बढिरहेका छन् ।’

त्यसरी ठगिएको रकम खातामा जम्मा भएको पाइएपछि निर्दोष भएपनि खातावालाको संलग्नता देखिने र उसको खाता रोक्काका साथै कानूनी कारबाही हुनसक्नेतर्फ प्रहरीले सचेत गराएको हो । प्रहरीले भनेको छ, ‘कारोबार गर्दा सम्बन्धित व्यक्तिको तस्बिर तथा पहिचान खुल्ने कागजात लिएर मात्र गरौ । शंकास्पद कारोबारहरु नगरौं ।’

टिप्पणीहरू