पाकिस्तानी सैन्य टोलीप्रति पूर्व परराष्ट्रमन्त्री सशंकित

पाकिस्तानी सेनाको उच्चस्तरीय टोली नेपाल आएकोमा पूर्व परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका नेता एनपी साउदले असन्तोष व्यक्त गरेका छन् । 

भारत र पाकिस्तानबीच तनाव चर्किएका बेला एउटा देशको उच्चस्तरीय सैन्य टोलीले भ्रमण गर्नु उपयुक्त नहुने उनको ठम्याई छ । छिमेकमा भएको आतंककारी घटना र पछिल्लो परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानी सैनिक प्रतिनिधिमण्डलको भ्रमण गराइएको गुनासो साउदले गरेका छन् । 

अन्तर्राष्ट्रिय मामिलाका कतिपय सन्दर्भमा भारततिर झुकाव राख्ने गरेको आरोप लाग्दै आएका कांग्रेस सांसद उनले भने, ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो ।’ 

छिमेकमा युद्धको आगो सल्किएका बेला सरकारले कूटनीतिक जिम्मेवारी बोध गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्नेमा साउदले जोडसमेत दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नै सभापतिपत्नी तथा नेतृ परराष्ट्रमन्त्री रहेको सरकारलाई सुझाव दिँदै भने ‘आफ्नै नागरिक आस्थाका आधारमा आतङ्कको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु ।’

त्यसक्रममा उनले भारतको जम्मू–कश्मीरमा पर्ने पहलगाममा नेपाली युवा सुदीप न्यौपानेसहित २६ जनाको निर्ममतापूर्वक हत्या भएकोप्रति दुःख व्यक्त गरे ।
 

टिप्पणीहरू