दलित अभियानका निम्ति जेठ १० गते कालो दिन

दलित अभियानका निम्ति जेठ १० गते कालो दिन

जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको दिनलाई ‘दलितका लागि दलित अभियान, नेपाल’ ले कालो दिनको रुपमा मनाउने भएको छ । आगामी जेठ १० गते दिउँसो १२ बजे राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको बृहत प्रदर्शन गर्न लागिएको छ । सो क्रममा उच्च अदालत,सुर्खेतका न्यायाधीशद्धय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीमाथि कारबाहीको माग पनि गरिने अभियानले जनाएको छ । 

प्रेमिका लिन गएका जाजरकोटका नवराज विकसहित ६ जनाको २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा सामूहिक हत्या भएको थियो । जिल्ला अदालत, रुकुम पश्चिमले घटनामा संलग्न २३ जनालाई जन्मकैदसहित छुवाछुत तथा जातीय भेदभावसम्बन्धी मुद्दामा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । 

प्रतिवादीहरुले उच्च अदालत, सुर्खेतमा पुनरावेदन गरेकोमा गत वैशाख १६ गते न्यायाधीशद्धय मैनाली र भण्डारीको संयुक्त इजलासले जन्मकैदको सजायलाई सदर गर्दै जातीय छुवाछुतको कसुरमा दिइएको सजाय भने बदर गरिदिएको थियो । त्यसयता पीडितको परिवार निरन्तर सडक आन्दोलनमा छ । यता, मृतक विकको बुवा मोहनलाल विकले न्यायाधीशद्धयमाथि कारबाहीको माग गर्दै हिजो न्याय परिषद्मा उजुरी हालेका छन् ।

टिप्पणीहरू