पूर्वराष्ट्रपतिका प्रष्ट कुरा : एमाले नेतृत्वले आत्मसमीक्षा गरोस्

भन्नलाई त अनेक कार्यक्रमका उद्घाटनमा सरिक भन्ने गरिन्छ । तर, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणलाई उद्घाटन र समापन समारोहको प्रमुख अतिथिका रुपमा मात्रै मान्न सकिँदैन । उनको भ्रमण सुस्त र सुषुप्त देखिए पनि अर्थपूर्ण छ र रहनेछ भन्ने कुरा बिस्तारै खुल्न थालेको छ । यो साता तत्कालीन नेकपा एमालेकी उपाध्यक्ष भण्डारी हेटौँडा आइन् । बसाइ हेटौँडा– ११ सहिद स्मारकस्थित स्मारक होटलमा तीन दिनसम्म रह्यो । हेटौँडा आउनुको तात्पर्य मदन भण्डारी फाउण्डेशनको अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि बन्नु मात्रै त पक्कै होइन भन्ने कुरा तीनदिन बसेबाटै बुझ्न सकिन्छ । यो बीचमा भण्डारी सडक सहयोगापेक्षीहरूको संरक्षणका लागि निर्मित मानव सेवा आश्रम, दिब्य सेवा निकेतन (वृद्धाश्रम) देखि पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित आमाघर आश्रमसम्म पुग्न भ्याइन् । खासगरी समाजकल्याणका लागि गरिएका ती काम हेर्ने र बुझ्ने इच्छा रहेको उनीनिकटले बताउने गरेका छन् ।
मकवानपुरमा खास मान्छे भनेर चिनिएका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलदेखि तत्कालीन एकीकृत समाजवादीमा उपाध्यक्ष बनेर फर्किएका पुराना नेता केदार न्यौपानेसम्म वरिपरि देखिए । त्यसो त एमाले बागमती प्रदेश कमिटीको निर्वाचनलाई ५ दिन लम्ब्याई कैलाश ढुंगेललाई लगाएर अध्यक्षमा हराइएका पूर्वसांसद कृष्णप्रसाद दाहाल, राष्ट्रिय सभाका निवर्तमान सांसद तथा एमाले मकवानपुरका तत्कालीन जिल्ला संयोजक रामचन्द्र राईसमेत सँगसँगै जसो थिए । औपचारिक कार्यक्रमको स्वागत गर्ने लाइनमा भने एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर रानादेखि नेकपा एकीकृत समाजवादीतर्फ रहेका मजदुर नेता ललित बस्नेतसमेत देखिए ।
‘संसदमा सहयात्री बन्लान् भनेर कतिपय ठाउँमा नेतृत्वले पश्चगामीलाई स्थान दिने नीति बनाएको थियो होला, तर न त मकवानपुरमा जितियो न अन्तकाले पनि संसदमा साथ दिएका छन् ।’
वैशाख १९ गते मकवानपुर आइपुगेकी भण्डारीले विभिन्न तह, क्षेत्रका मानिसको कुरा सुनिन् । जनप्रतिनिधि, मकवानपुर र चितवनबाट आएका विभिन्न टोलीलाई भेटिन् । त्यसो त व्यवसायीले पनि मकवानपुर उद्योग वाणिज्य संघको टोलीको नाउँमा भेटेर २५ मीटर सडक विस्तारका समस्या सुनाएको बताइन्छ । सोही दिन अर्थात् वैशाख २१ गते साँझ एउटा राजनीतिक भेटघाट गरिन् । झण्डै ४० मीनेटको संबोधनका भिडियो खिच्न अनुमति दिइएको थिएन । सुरक्षाकर्मीले भीडियो नखिच्न आग्रह गरेपछि भण्डारीले नै भनेकी थिइन्–‘मैले बोलेका कुराहरू बिर्सनुहोला भनेर भिडियो खिच्न खोज्नुभएको होला, यसपटक चाहिँ मनमनै सम्झिने प्रयत्न गरौं ।’
४० मीनेट बोल्दा झण्डै आधा दर्जन पटकजति एमाले नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने बताइन् । आफूलाई एमालेले एउटा परिस्थितिबाट यहाँसम्म ल्याइदिएको भन्दै पटक–पटक पार्टीलाई धन्यवाद दिइन् र पार्टीको विचार, सिद्धान्त र समग्र समाजवादी व्यवस्था ल्याउने आन्दोलनबाट निराश नहुन सल्लाह दिइन् । तलका कार्यकर्ताले देखाएको साहस र लगनशीलताको प्रशंसा गर्दै चौतर्फी घेराबन्दी हुँदा पनि प्राप्त उपलब्धि सन्तोषजनक रहेको बताइन् । पाँच दल मिल्दा पनि एमालेलाई दोस्रो ठूलो दलको रुपमा स्थापित गर्न सक्नु चानचुने कुरा नरहेको उनको टिप्पणी थियो । उनले एमाले आफ्नो विचार, सिद्धान्तमा राम्रो देखिए पनि केही ‘अवसरवाद’ का कारण समस्या आएको हो कि भन्ने संकेत गरिन् । पटक पटक एमालेलाई धक्का भएको सम्झाउँदै ‘२०५० सालमा मदनको शंकास्पद हत्या किन भयो भन्ने प्रसंग जोडिन् । ‘२०५० मा मदनको शंकास्पद हत्या किन भयो ? २०५६ सालमा राष्ट्रिय सवाल उठाएर किन पार्टी फोडियो ? फोडिएको पार्टी किन मेनस्ट्रिम बन्न सकेन ? यदि त्यो पार्टी मेन स्ट्रिम बनेको थियो भने हामी पनि त्यहाँ जानुपर्ने स्थिति बन्थ्यो । अस्ति भर्खर २०७८ मा किन हाम्रो एउटा अंग चुँडिएर गयो ?’ भण्डारीको भनाइ थियो, ‘यी सबै कुरा एमालेलाई कमजोर बनाउनका लागि भएको होइन र ?’ त्यसैले अब एमालेले तत्कालै दुईवटा कुरामा ध्यान दिएर अघि बढ्नुको विकल्प नरहेको उनको सुझाव थियो । पहिलो, नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ र दोस्रो एमालेको इतिहास, संघर्ष र यात्राबारे नयाँ पुस्तालाई बुझाउन सक्नुपर्छ ।
मकवानपुरको राजनीतिबारे पनि जानकार रहेकी भण्डारीले एमालेले कमल थापालाई सूर्यचिन्हमा उठाएको बारे बोलिन् । संघीय लोकतान्त्रिक गणतन्त्र मानेको, संविधान मानेको भनेर आएपछि पश्चगामी भनिएपनि घेराबन्दी हुँदा सहारा खोजिएको होला भन्दै नेतृत्वको बचाउ गरिन् । तर, ५ सय पनि मत नभएको उम्मेदवार र पार्टीलाई २५ हजार मत आउने बनाइदिएको सम्झँदै भण्डारीले एमालेका समर्थक र मतदातालाई धेरै सम्मान गर्नुपर्ने बताइन् । ‘संसदमा सहयात्री बन्लान् भनेर कतिपय ठाउँमा नेतृत्वले पश्चगामीलाई स्थान दिने नीति बनाएको थियो होला, तर न त मकवानपुरमा जितियो न अन्तकाले पनि संसदमा साथ दिएका छन् ।’–भण्डारीले भनिन् । बरु आफ्नैलाई टिकट दिएको भए जितिन्थ्यो कि भन्दै उनले पार्टीको स्थापना, लक्ष्य, उद्देश्य, सिद्धान्तबाट च्यूत हुन नहुने र अझ चुस्त ढंगले अघि बढेर फेरि उचाईमा लैजानुपर्ने सुझाव दिइन् । ‘तपाईंहरू कोही पनि निराश नहुनुस्, देशमा विकास भएन भन्ने होइन, भइरहेको छ । तर, अझै पुगेन र तल्लो पर्गमा पुगेन भन्ने कुरा सुनिरहेकी छु, यसलाई मिलाएर लैजानुपर्छ ।’
टिप्पणीहरू