गभर्नर नियुक्ति र ५२ भाइको सुनुवाइमा त जेलिएन एमाले-काङ्ग्रेस तानातान ?

गभर्नर नियुक्ति र ५२ भाइको सुनुवाइमा त जेलिएन एमाले-काङ्ग्रेस तानातान ?

नेपाल राष्ट्र बैंक विशेषगरी चैत,वैशाख, जेठ र असारमा सरकारको अर्थ मन्त्रालय जस्तै व्यस्त हुने गर्दछ । आगामी आर्थिक वर्षको बजेटअनुरुपको मौद्रिक नीतिको तर्जुमा,यसअघिका नीति तथा बजेट कार्यान्वयनको समीक्षा गर्नुपर्ने भएकाले गभर्नर,डेपुटी, कार्यकारीहरुले विशेषगरी निकै व्यस्त हुनुपर्ने हुन्छ । 

तर चैत अन्तिम साता गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनु महिना दिनअघि नियुक्त हुनुपर्ने गभर्नर एक महिनासम्म रिक्त छ । डेपुटी निलम ढुंगाना तिम्सिनालाई कायममुकायमको जिम्मेवारी दिइएको छ । गभर्नर बन्ने हुटहुटीमा लागेकी उनका कतिपय अडान र हठले सरकारसमेत अप्ठेरोमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर बनाउने वचन दिएको बताउँदै आएकी निलमको गभर्नर बन्ने सपना लगभग सकिएको छ । 

सत्ता गठबन्धन जोगाउन प्रधानमन्त्रीले बूढानीलकण्ठ निवासलाई दिनुभएको गभर्नर उम्मेदवार छान्ने जिम्मामा उनै तिम्सिनाले भाँजो हालिदिएकी छन् । कतिपयले उक्त भाँजो प्रधानमन्त्री ओलीको चार वर्षअघिको सिफारिसमा नियुक्त संवैधानिक निकायका ५२ भाइको बाँकी अवधिसँग ‘सौदाबाजी’ भनेर टिप्पणी गर्न भ्याएका छन् ।

कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा तीन सातादेखि अलपत्र पर्नु त्यसैको परिणाम हो । अर्थ मन्त्रालयले जति पहल गरे पनि म्याडमले भट्टको राजीनामा स्वीकृत नगरेपछि गभर्नर नियुक्तिको मार्ग अवरुद्ध छ । सोही कारण देउवाले पार्टी पदाधिकारीहरुलाई ‘भट्टको नहुने भयो" भनेर सुनाएपछि विकल्पमा केही नाम अघि सारिएका छन् । तर,बालुवाटार अझै पनि म्याडमलाई मनाएर भए पनि सुदूर पश्चिमका भट्टलाई गभर्नर बनाउने अन्तिम प्रयासमा रहेको बताइन्छ । 

अर्कोतर्फ भट्टको राजीनामा कुनै हालतमा स्वीकृत नगर्ने कामु गभर्नरको अडान रहेको बेला अर्का डेपुटी बमबहादुर मिश्र अमेरिकामा छन् । उनी छोरीको दीक्षान्त समारोहमा भाग लिन त्यता गएको सामाजिक सञ्जालमा हालिएका फोटोबाट पुष्टि हुन्छ । बैंकका अधिकारीहरु भन्छन्, ‘उहाँ जेठ लागेपछि मात्रै आउने कार्यक्रम छ । निजी बिदामा जानुभएको हो । म्याडमले पठाएर जानुभएको होइन किनभने गत वर्षको नगरकोट काण्डपछि उहाँहरुबीच लगभग बोलचाल बन्दको अवस्था छ ।’

यस्तो अवस्थामा निलमलाई जिम्मेवारीबाट केही समय अलग गरेर मिश्रलाई कायम मुकायम दिन नमिल्ने अवस्था छ । उनलाई केही समय विदेश काजमा पठाउँदा पनि मिश्र कायम मुकायम गभर्नर हुन्छन् । त्यो बेला भट्टको राजीनामा स्वीकृत गर्न बाटो खुल्ने सम्भावना पनि छ । तर, काँग्रेसको ‘द्रव्य समूह’ले यसबीच नयाँ उम्मेदवारहरुलाई गभर्नरमा अगाडि सारेर प्रधानमन्त्रीलाई दबाब दिने सम्भावना हिजोदेखि ह्वात्तै बढेको छ ।

म्याडमको अडानबारे अर्थ मन्त्रालय स्रोत भन्छ,‘मन्त्रीज्यूसँगको कुराकानीमा उहाँले राजीनामा स्वीकृत गर्ने अधिकार कन्फर्म गभर्नरको मात्रै हो भन्दै आउनुभएको छ । आफूले भट्टको राजीनामा स्वीकृत गर्नु कानुन विपरित हुने अडान छ ।’ बरु उल्टै म्याडम प्रधानमन्त्री ओलीले पहिले वचन दिएकाले भट्टको राजीनामा स्वीकृत नगर्ने, आवश्यक परे आफैँ राजीनामा दिने मूडमा रहेको अर्थको उच्च स्रोत बताउँछ ।

केही समयअघि एमालेले अगाडि सारेका प्रकाशकुमार श्रेष्ठ जेठ १० गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । योजना आयोगका सदस्य तथा बैंकका कार्यकारी निर्देशक उनी अवकाश अघिको ३० दिने अनिवार्य बिदामा छन् ।

बैंकका बहालरत कार्यकारी निर्देशकहरुको राजीनामा कुनै हालतमा स्वीकृत नगर्ने निलमको अडानले काँग्रेसले अगाडि सार्ने जोकोहीलाई गभर्नर बन्ने भाग्य खुलाइदिने सम्भावना बढाएको छ । तर, आफैँ भने उक्त सम्भावनाबाट निकै पर पुगिसकेको सम्भवतः उनलाई पत्तो नभएको अनुमान गर्न सकिन्छ ।

टिप्पणीहरू