पक्राउ पुर्जीको हल्लापछि एमाले सांसद पैसा तिर्न मञ्जुर

पक्राउ पुर्जीको हल्लापछि एमाले सांसद पैसा तिर्न मञ्जुर

नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीले पक्राउ पुर्जीको चर्चापछि पल्लवी इलेक्ट्रोलाई पैसा तिरेका छन् । उनले छ लाख ५९ हजार बुझाएका हुन् ।

गौतम बुद्ध हाइड्रो पावरको सञ्चालकसमेत रहेका पन्थी र देवराज खनालले साढे १२ लाख नतिरेको भन्दै विराटनगर मुख्य कार्यालय रहेको पल्लवी इलोक्ट्रोले मोरङ जिल्ला अदालतमा रिट दायर गरेको थियो । उक्त मुद्दामा ०७७ मंसिर २३ गते तत्कालीन न्यायाधीश मेदिनीप्रसाद पौडेलेको इजलासले पन्थी र खनालबाट बाँकी रकम भराउन दिएको आदेश कार्यान्वयन भएन । गत वर्ष जेठमा पक्राउपछि छ महिना कैदको आदेश भए पनि त्यसअघि पक्राउ पुर्जी जारीको एक वर्षसम्म उनीहरु पक्राउ परेका थिएनन् । 

खनाल अहिले अष्ट्रेलियामा छन् । सांसद पन्थी हिजो लुम्बिनीमा आयोजित बुद्ध जयन्ती विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै देखिएपछि एक वर्ष अघिको पक्राउ पुर्जी चर्चामा आएको हो । प्रहरीले पक्राउ पुर्जी खोजेर समात्ने तयारी गरिरहँदा पन्थीले भने त्यसअघि नै विवाद सल्टाएका हुन् । 

उनले हिजो साँझ विवाद समाधान गर्न आफू विराटनगर जान लागेको जनआस्थालाई जानकारी गराएका थिए । ‘तर म काम विशेषले विराटनगर जान सकिनँ, पैसा चाहीँ बिहानै पठाइसकेँ’, उनले भने, ‘मेरो भागमा छ लाख ५९ हजार पर्दो रहेछ, मेरा वकीलले अदालतको पक्रिया पूरा गरेर पैसा दिँदैछन् ।’

सांसद पन्थीले अदालतको मुद्दा र आदेशबारे आफूलाई जानकारी नभएको कारण सानो समस्याले ठूलो रुप लिएको पनि बताए । ‘मलाई थाहा भएको भए उतिबेलै पैसा दिन्थेँ नि ! बेकारमा मेरो बदनाम गरियो, त्यै पनि ठीकै छ, मिडियाले अलिकति चर्चामा भए पनि ल्याइदिए’, उनले सुनाए ।

टिप्पणीहरू