गभर्नर टाइमलाइन : सिफारिसलगत्तै आजै नियुक्ति, भोलि शपथ र पदबहाली

गभर्नर टाइमलाइन : सिफारिसलगत्तै आजै नियुक्ति, भोलि शपथ र पदबहाली

राष्ट्र बैंकको रिक्त गभर्नर पदपूर्तिमा देखिएको किचलो आजदेखि साम्य हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको छलफलपछि आजै सिफारिसलगत्तै नियुक्तिको सहमति भएको बताइन्छ । 

अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजकले बैठक ४ बजे बोलाउनुभएको छ । प्रधानमन्त्रीले क्याबिनेट बैठक साँझ ६ बजे डाक्नुभएको छ । अर्थमन्त्री विष्णु पौडेल संयोजक, पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे सदस्य रहेको समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । त्यसमा काँग्रेसले अगाडि सारेको डा. विश्व पौडेललाई गभर्नर बनाउन नियमानुसार अरु दुई जनाको नाम पछाडि राखिने छ । 

विश्व पौडेलपछि सिफारिस सूचीको २ र ३ नम्बरमा बैंकका डेपुटीहरु निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको नाम हुने स्रोतको दाबी छ । भोलि बिहान साढे १० बजे नयाँ गभर्नरले प्रधानन्यायाधीशसँग सर्वोच्च अदालतमा पद तथा गोपनीयतको शपथ लिएपछि पदबहाली गर्नेछन् । 

यता, झण्डै डेढ महिनादेखि कायम मुकामय गभर्नरको जिम्मेवारीमा रहेकी ढुंगाना भोलिदेखि डेपुटीमा झर्नेछिन् । उनले आफूलाई बैंकको वेवसाइटमा अर्थसचिवभन्दा माथि राखेर सञ्चालक समितिमा वरिष्ठता कायम गरेकी थिइन् । भोलिदेखि नयाँ गभर्नरपछि अर्थसचिव र त्यसपछि मात्रै निलमको कनिष्ठता उल्लेख हुनेछ ।

टिप्पणीहरू