सिंहदरबारमा आज पनि रमिता

संसद्को सार्वजकि लेखा समितिको बैठकमा आज पनि भनाभन भएको छ । समिति सभापति ऋषिकेश पोखरेल र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीबीच नोकझोक चलेको हो ।
सांसद मोदीले ‘सार्वजनिक लेखा समितिका सभापतिमाथि नै गम्भीर प्रश्न छ’ भनेपछि सभापति पोखरेल ‘छ त !’ भन्दै झोक्किएका थिए । त्यसपछि मोदीले जवाफ फर्काए, ‘हामी प्रमुख प्रतिपक्षी दल रहुञ्जेल यो प्रश्न उठिरहन्छ ।’
त्यतिकैमा पोखरेलले थप आक्रमक हुँदै भने, ‘तपाईलाई यहाँ केही चाहिया हैन, भरे युटुबमा एउटा समाचार चाहिएको हो ।’ जवाफमा मोदी भन्छन्, ‘हैन हैन, यो सार्वजनिक महत्वपको विषय... ।’ बिचैमा सभापति थप्छन्, ‘तपाई हरेक दिन किन बोल्नुहुन्छ, युटुबर बोकेर किन आउनुहुन्छ ? भन्ने कुरा मलाई राम्ररी थाहा छ क्या, खिचेर युटुबमा हाल्नलाई यो बोलिरहनुभएको छ, त्यत्ति हो ।’
मोदी पनि झोक्किदै सोध्छन्, ‘मैले के बोले ? हामीले कुरा राख्न नपाउने ?’ चर्काचर्की बढेपछि अन्य सांसदहरुले होहल्ला गर्छन् । र, प्रतिपक्ष दलका अन्य सांसदहरुले मोदीलाई आफ्नो कुरा अघि बढाउन आग्रह गर्छन् । त्यसपछि भने सभापनि केही बोल्दैनन् ।
मोदीले मल र बिउ पाउन नसकेका किसानको विषयमा धारणा राख्छन् । रोचक के भने, बैठकको अन्त्यमा सभापति पोखरेलले सञ्चारकर्मीलाई समेत झपारेका छन् । बैठक हलबाट बाहिर निस्कदैँ गर्दा उनले आक्रोशित हुँदै भने, ‘हरेक दिनको बैठकलाई शुटिङ गर्नुपर्दैन । बैठक अमर्यादित र असहज बनाउन हरेक दिन शुटिङ गरेर मसला निकाल्ने जुन प्रवृति छ, यो गलत हो । मिडियाका साथीहरुले हरेक दिन आएर शुटिङ गर्नुपर्दैन ।’
स्मरणीय छ, हिजोको बैठकमा सभापति पोखरेल र मोदीकै कारण एमालेका सांसद गोकुल बाँस्कोटा र स्वतन्त्र सांसद अमरेशकुमार सिंहबीच पनि भनाभन भएको थियो । सभापति पोखरेलले मोदीलाई रोकेर बाँस्कोटालाई बोल्न दिएपछि अमरेशले प्रश्न उठाएका थिए ।
सोक्रममा बाँस्कोटा र अमरेशले एकअर्कालाई औँला तेर्साएर भनाभन गरेका हुन् ।
टिप्पणीहरू