राजावादी आन्दोलनमाथि प्रतिबन्ध लगाउने चेतावनी

सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादी आन्दोलनमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
क्याविनेटका निर्णय सुनाउन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले राजावादीहरुले उग्रता कायमै राखे प्रतिबन्ध लगाउनुको विकल्प नहुने स्पष्ट पारेका हुन् ।
‘सरकारले जेठ १५ गते खुलामञ्चमा गणतन्त्र दिवस मनाउँदैछ, राजावादीहरुले पनि चुनौती दिएर त्यही प्रदर्शन गर्दैछन् नि ?’ भन्ने पत्रकारको जिज्ञासामा मन्त्रीले 'यसो अभ्यास गरुन् भनेर छुट दिएको’ बताए ।
‘जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन सरकारले भव्य रुपमा मनाउने निर्णय गरेको छ । त्यसैदिन गणतन्त्रलाई चुनौती दिने राजावादीहरूले प्रयास गरेका छन् । तर हामीले उदारतापूर्वक शासन प्रणाली उल्ट्याउन चाहनेलाई सभा र बोल्ने छुट दिएका छौँ’, उनले भने, ‘सधैँ संविधान र व्यवस्था विरोधी गतिविधि गरे यथोचित प्रतिवाद हुन्छ । ’
सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी दिँदै उनले संविधानविरोधी हर्कत भैरहे टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारेका छन् ।
‘उनीहरुलाई सभा समारोह गर्न छुट दिनु हाम्रो कायरता होइन, कमजोरी होइन, डराएर गरेको होइन, उदारतापूर्वक छुट दिएको हो’, मन्त्रीले भने, ‘तर त्यस्तै संविधानविरोधी, जनताविरोधी, व्यवस्थाविरोधी क्रियाकलप भयो भने, सरकार टुलुटुल हेरेर बस्दैन, आजका दिनसम्म हामीले उनीहरुमाथि प्रतिबन्ध लगाएका छैनौ, तर आवश्यक पर्यो भने प्रतिबन्ध लगाउने संवैधानिक अधिकार, कानुनी अधिकार सरकारसँग छ ।’
मन्त्री गुरुङले गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन अपीलसमेत गरे ।
टिप्पणीहरू