ढल्यो, ढल्यो !

कमरेड प्रचण्डलाई नेपाली राजनीतिमा जब्बरै नेता मानिन्छ । तर अस्ति कुनचाहिँ रिसोर्टमा हो, उहाँ ढल्नुभएको खबर आयो । प्रचण्ड ढलेको खबरलाई कतिले ‘सरकार ढल्यो’ भन्ने हिसाबले पनि सुनेछन् । किनभने अहिले यो देशमा ढल्ने र उठ्ने भनेकै सरकार मात्रै हो । बाँकी त सबै ठीकठाक ।
तर यसपटक ढलेको सरकार होइन, कमरेड प्रचण्ड । प्रचण्ड ढलेको खबर सुनेर मलाई त लागेको थियो, यो बासी समाचार हो । प्रचण्ड ढलेको अहिले हो र ? नौ महिना भइसक्यो । यो नौ दश महिना पुरानो समाचार किन प्रशारण भइरहेछ अहिले ? राम्ररी बुझेपछि थाहा भयो, उहाँ ढलेको समाचार ताजा नै हो । ठाउँमात्रै फरक छ । सरकारमा ढलेको होइन, ढलेको हो ।
म यसलाई पुराने समाचार भन्दै थिएँ, मित्र बाघराजले चाहिँ यो घटित नै हुन बाँकी घटनाको समाचार भन्ठानेछन् । अर्थात यो समाचार त विक्रम संवत् २०८४ मा आउनुपर्ने हो । अहिले नै किन आयो ? के कुनै घटना घटित हुनु अगावै पनि समाचार आउँछ ?
बाघराजलाई म सिंहराजले सम्झाएँ । यो कुनै जंगल–मंगलतिरको समाचार होइन । यो त रिसोर्टतिरको समाचार हो । रिसोर्टतिर लागेपछि मान्छे यसरी नै ढल्ने हो । कुनै बेला गाउँबस्तीका गरिब जनताको घर घरमा ढलान खान जाँदा कहिल्यै ढलेको सुन्नुपरेन । अहिले रिसोर्टमा खान जाँदा ढलान ।
गाउँबस्तीका जनता गाउँबस्तीमै छन् । उनीहरू अहिले पनि उही ढिँडो र साग खाँदैछन् । कमरेड प्रचण्ड गाउँ छोडेर शहर पस्नुभयो । शहरको पनि रिसोर्टतिर जानुभयो । अनि उहाँ नढले अरु को ढल्छ त ? यसरी रिसोर्ट–रिसोर्ट मात्रै चाहर्न थाल्नुभयो भने त चौरासीमा पनि ढल्ने यसरी नै हो ।
बाघराजले कुरो बुझे जस्तो गर्यो । बाघराजले त बुझे अरुले चाहिँ कहिले बुझ्ने हो खै !
टिप्पणीहरू