बालुवाटारको निर्देशन र चेतावनीपछि युवा संघका नेताहरु पोखरामा
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेसहित सबै पदाधिकारी पोखरा पुगेका छन् । भोलिदेखि शुरु हुने संघको दशौं राष्ट्रिय महाअधिवेशनमा सहभागी हुन उनीहरु आज दिउँसो त्यहाँ पुगेका हुन् ।
भोलि मध्याह्न १२ बजे अमरसिंह चौरमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । आज पोखरा पुगेकामा अध्यक्ष थेवे, उपाध्यक्षहरु कृष्णहरी केसी, प्रकाश गौतम, महासचिव सुमन पुरीलगायत छन् । प्रतिनिधिहरु पनि पुग्नेक्रम शुरु भइसकेको छ ।
युवासंघको आगामी नेतृत्वको लागि केही नेताहरुले लबिङ शुरु गरिसकेको अवस्थामा अध्यक्ष ओलीले सर्वसम्मतका लागि निर्देशन दिनुभएको बताइन्छ । हिजो संघका पदाधिकारीलाई बालुवाटारमा बोलाएर सर्वसम्मत नेतृत्व चयन गर्दा विरोध गर्नेलाई कारबाहीको चेतावनी दिइएको छ ।
बालुवाटार पुगेका संघका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले चुनावी प्रक्रियामा नगई नेतृत्व छान्न प्रष्ट आदेश दिनुभएको छ । त्यसो गर्दा नयाँ नेतृत्वमा अटाउन नसकेकालाई पार्टीमा जिम्मेवारी दिने आश्वासन देखाइएको छ ।
महाधिवेशन उदघाटन गर्न प्रधानमन्त्री ओली भोलि बिहान नेपाली सेनाको हेलिकोप्टरमा पोखरा जाने कार्यक्रम छ । संघका इञ्चार्ज महेश बस्नेत आजै पोखरा पुगेका छन् । जहाजमार्फत् दिउँसो पोखरा ओर्लिएका उनले अमरसिंह चौर पुगेर कार्यक्रमस्थलको निरीक्षणसमेत गरेको बताइन्छ ।
युवासंघको महाधिवेशनमा देशभरबाट १८ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
टिप्पणीहरू