गृहमन्त्रीको राजीनामाबारे काँग्रेस नेताको दुइथरी मत
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको दबाब बढिरहेको बेला नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले भने बचाऊ गरेका छन् । कर्मचारीले गल्ती गर्दा मन्त्रीले पद छाड्न आवश्यक नरहेको उनको भनाइ छ ।
आज बिहान विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सामान्य प्रश्न उठ्दैमा राजीनामा दिँदै जाने हो भने गलत नजिर बस्ने बताएका हुन् । ‘कुनै पनि अड्डा अदालत वा कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने उ नै जवाफदेही र जिम्मेवार हुन्छ’, उनले भने, ‘त्यस्तो अवस्थामा त्यो कार्यालयको प्रमुखले नै राजीनामा दिनुपर्छ, पद छोड्नुपर्छ भन्ने कुरा हामीले उठायौँ भने यो राज्य व्यवस्था नै चल्दैन ।’
काँग्रेसकै अर्का सांसद डा. शेखर कोइरालाले भने हिजो विराटनगरबाटै गृहमन्त्री लेखकले तत्काल पदबाट राजीनामा दिनुपर्ने मत राखेका थिए । ‘पूर्व अर्थमन्त्रीहरु जर्नादन शर्मा र डा रामशरण महत, अन्य मन्त्रीहरु गोकुल बाँस्कोटा, शेरबहादुर तामाङलेले पनि राजीनामा दिएर छानबिनमा सहयोग गरेका थिए’,कोइरालाले भनेका थिए, ‘इस्यु आएपछि आफू क्लिन छु भन्ने देखाउन पनि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्छ, राजनीतिमा नैतिकताको महत्व अन्यत्रभन्दा धेरै हुन्छ ।’
उता गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्दै दोषी देखिए राजनीतिबाट बिदा लिने उद्घोष गरेका छन् ।
टिप्पणीहरू