निलमको बदला एचआरमा, युवराजको आग्रह रिसर्चमा
राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले तीन जना विभागीय प्रमुखको सरुवा गरेका छन् । कायम मुकायम गभर्नरको जिम्मेवारीमा रहँदा डेपुटी निलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत नगरिएका आर्थिक अनुसन्धान विभागका डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा लगिएको छ ।
आगामी असोजसम्म सेवा अवधि बाँकी रहेका भट्टलाई गभर्नर पौडेलले कार्यालय फर्कन आग्रह गरेपछि नयाँ सरुवा गरिएको काँग्रेस निकट कर्मचारीहरुको वित्तीय संस्था कर्मचारी संघका एक जना पदाधिकारीले बताए । अन्य विभागमा राख्दा कामको सिलसिलामा निलमसँग जोडिनुपर्ने भएकाले गभर्नरले आफ्नै कार्यालयमा ल्याएको उनको दाबी छ ।
आर्थिक अनुसन्धानमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाका छोरीज्वाईं रामशरण खरेललाई लगिएको छ । चैत मसान्तका दिन निलमको सिफारिसमा कार्यकारी निर्देशकमा बढुवा भएका खरेल मानव संशाधन विभागमा थिए । निलम र उनको योजनामा भट्ट अध्यक्ष रहेको कर्जा सूचना केन्द्रमा हालै मात्र खरेललाई प्रतिनिधित्व गराइएको थियो ।
मानव संसाधन विभागमा बैंकिङ कार्यालयका विश्रुत थापालाई लगिएको छ । निलमले थापालाई विभागीय रुपमा प्रतिनिधित्व गर्दै आएको एनसीएचएलको अध्यक्षबाट एकाएक हटाएपछि काँग्रेसी कर्मचारीहरु रिसले आगो भएका थिए । गतसाता नयाँ गभर्नरको नियुक्तिलगत्तै उनीहरुले निलमको गलत निर्णयको बदला थापालाई मानव संशाधन विभागमा लगेर लिइने बताएका थिए ।
टिप्पणीहरू