जेठ १५ गते तयारी अवस्थामा बस्न एमाले कार्यकर्तालाई निर्देशन

जेठ १५ गते तयारी अवस्थामा बस्न एमाले कार्यकर्तालाई निर्देशन

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार मौन बसेको बेला राजावादीहरुको फुर्ति बढेको टिप्पणी गर्नुभएको छ । तर एमाले ढ्याङग्रो लिएर मैदानमा उत्रिएपछि उनीहरु आफैँ दुलोभित्र पस्ने उहाँको दाबी छ । 

‘जनता र सरकार मौन बसेको बेला उनीहरुले फाइदा लिएर अलिअलि फुर्तिफार्ति बढाएका छन्, तर जति फुर्ति लगाए पनि काम छैन’, उहाँले भन्नुभयो, ‘तन्त्रमन्त्र गरे पनि, अक्षता मन्साए पनि केही हुँदैन, ढ्याङग्रो लिएर एमाले मैदानमा उत्रेपछि आफैं दुला दुला पस्छन् ।’

आजदेखि शुरु भएको पार्टी निकट वडाध्यक्षहरुको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रतिगामीहरुको प्रतिवाद गर्न एमाले पनि सडकमा उत्रिन आवश्यक पर्नसक्ने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । अगाडि भन्नुभयो, ‘जेठ १५ गते दिनभर काठमाडौँमा साथीहरु तयारी अवस्थामा बस्नुपर्छ, को कसरी अगाडि बढ्छ, त्यसलाई छाड्दिनुस् । आन्दोलनमा प्रोटोकल सोर्टोकलको कुरा हुँदैन, आवश्यक परेपछि एक भएर अघि बढ्नुपर्ने हुन्छ ।’ 

प्रधानमन्त्री ओलीले एमाले नै मुलुकको राष्ट्रशक्ति भएको दाबीसमेत गर्नुभयो । ‘०६४ मा त माओवादीको आतंकले हारेका हौँ, तर अब न ०६४ साल आउँछ, न माओवादी आउँछ । यो मुलुकमा एमाले नै पहिलो र बलियो मजबुत पार्टी हो’, उहाँले थप्नुभयो ।

टिप्पणीहरू