काँग्रेस बैठकमा प्रधानमन्त्रीको चर्चा, गृहमन्त्री निर्दोष रहेको निष्कर्ष

काँग्रेस बैठकमा प्रधानमन्त्रीको चर्चा, गृहमन्त्री निर्दोष रहेको निष्कर्ष

सत्तारुढ नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध अफवाह फैलाइएको निष्कर्ष निकालेको छ । आज बिहान बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कर्मचारीले गरेको गल्तीमा गृहमन्त्री दोषी नहुने ठहर गरेको हो । 

बैठकमा गृहमन्त्री लेखकले सभापति शेरबहादुर देउवासहित अन्य पदाधिकारीसामु भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको मौखिक प्रष्टीकरण दिएका थिए । त्यसपछि अन्य नेताहरु पनि लेखकविरुद्ध सुनियोजित रुपमा अफवाह फैलाइएको निष्कर्षमा पुगेको बताइएको छ । 

प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकविरुद्ध सामाजिक सञ्जालमा नियोजित ढंगबाटै भ्रम र कपोकल्पित आरोप लगाइएको बताए । ‘उहाँ (लेखक)ले त्यस्तो केही गरेको देखिएन, बरु उहाँका कर्मचारीले गरेको भन्ने आयो, यसमा विस्तारै अनुसन्धान हुँदै जाला’, बैठकपछि उनले भने, ‘उहाँमाथि चाहिं बिनाआधार अफवाह मात्र फैलाइयो, कुनै उजुरी आयो, तमाम कुरा आयो भने बेग्लै कुरा, नत्र अहिले समाजिक सञ्जालको भरमा निष्कर्ष निकालेर दृष्टिकोण नबाउन सबैलाई आग्रह गर्छौ ।’ 

अर्का नेता डा. शशांक कोइरालाले पनि बैठकमा गृहमन्त्री लेखकले सबै स्पष्ट पारेको बताए । ‘कुरा उठेपछि हामीले सभापतिज्यूलाई उहाँ (लेखक)लाई बोलाएर वास्तविकता सोध्नुस् भनेका थियौँ’, उनले भने, ‘कुनै गल्ती गर्नुभएको रहेनछ, अफवाह फैलाइएको रहेछ, त्यसमा हामी स्पष्ट भयौँ ।’

नेता कोइरालाले भोलिको प्रतिनिधिसभा बैठकमार्फत् गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे थप स्पष्ट पार्ने पनि जानकारी गराए । 

काँग्रेस बैठकमा प्रधानमन्त्री केपी ओलीको हिजोको अभिव्यक्तिले पनि प्रवेश पाएको बताइएको छ । ‘जेठ १५ गते काठमाडौँ एमालेको कब्जामा हुनुपर्छ’ भन्ने ओलीको टिप्पणीपछि राजावादीहरु थप आक्रोशित बनिरहेको र प्रहरी प्रशासनमाथि सुरक्षा व्यवस्थापनको चुनाैती थपिएको पृष्ठभूमिमा सत्ता साझेदार काँग्रेसले त्यसबारे समीक्षा गरेको हो । 

राजावादीहरुले प्रधानमन्त्री ओली नै भिडन्त गराउने पक्षमा रहेको व्याख्या गरिरहँदा कांग्रेस नेताहरुले भने त्यो सत्य नभएको निष्कर्ष निकालेका छन् । प्रमुख सचेतक श्याम घिमिरेले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई सामान्य रुपमा लिएको बताए ।

‘उहाँ (प्रधानमन्त्री)ले गणतन्त्र मनाउने सन्दर्भमा त्यसो भन्नुभएको हो’, उनले भने, ‘उहाँको आफ्नै प्रस्तुती र शैली छ, त्यसैअनुसार बोल्नुभएको हो, तर कब्जा भन्ने शब्दको गलत अर्थ नलगाऔँ ।’

टिप्पणीहरू