बालुवाटारमा सबै धाउने,च्यासल कोही नआउने

बालुवाटारमा सबै धाउने,च्यासल कोही नआउने

पार्टी कार्यक्रममा लत्तो छाड्ने, बालुवाटार र बालकोट भनेपछि हुरुक्कै हुने प्रवृत्ति एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका पदाधिकारीहरुमा पनि लागु भएको छ । हिजो राति चौतारीका पदाधिकारीहरुले बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर साँझको खाना उतै खाए । 

बालुवाटारबाट फर्केपछि धेरैजसोले प्रधानमन्त्रीसँगको भेट,बालुवाटारको डिनर र आगामी गणतन्त्र दिवसको प्रचारप्रसारबारे लेख्दै सामाजिक सञ्जाल रंगाएका छन्  । प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट मूलतः गणतन्त्र दिवसको प्रचार प्रसारमा लाग्न निर्देशन प्राप्त भएको उनीहरुको भनाइ छ । 

यता, चौतारीकै एक जना सदस्यले आज बिहान पार्टी मुख्यालय च्यासलमा आयोजित भेलामा हिजो बालुवाटार पुगेकामध्ये जम्मा एक जना झुल्किएको  लेखेका छन् । आज बिहान एमालेले जनसंगठनका अध्यक्ष,इञ्चार्ज, पदाधिकारी र काठमाडौं उपत्यकाको तीनवटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरुको भेला बोलाएको थियो । जहाँ चौतारीका तर्फबाट जम्मा एक जना उपाध्यक्ष मात्रै पुगे ।

प्रेस चौतारीका पदाधिकारीहरुप्रति व्यङ्ग्य गर्दै मोहन बास्तोला लेख्छन्, ‘सायद हिजो बेलुकाको मीठो–मसिनुले बिहान अबेरसम्म मस्तको निन्द्रा लागेर पनि होला साथीहरु त्यहाँ पुग्न भ्याउनु भएनछ । आशा छ, उहाँहरुले हिजो मध्यरातसम्म सामाजिक सञ्जालमा यी तस्बिरहरु हालेर रंगिन बनाएजस्तै गणतन्त्र दिवशको प्रचारमा पनि उहाँहरको जोश–जाँगर खपिनसक्नुको व्यापक हुनेछ ।’

टिप्पणीहरू