गृहमन्त्रीले राजीनामा नदिने, मिथ्या आरोप लगाइएकाे दाबी
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
आज साँझ संसद भवन परिसरमा पत्रकार सम्मेलन गरेर उनले आफूमाथि राजनीतिक पूर्वाग्रह साँधेर मिथ्या आरोप लगाइएको बताएका हुन् । जिन्दगीभर भ्रष्टाचार र अपराधलाई तिरस्कार गर्दै आएको बताउँदै उनले भ्रमपूर्ण समाचारप्रति विश्वास नगर्न आग्रह गरे ।
‘जीवनभर गलत कामलाई तिरस्कार गर्दै टाढा बसेको मान्छे हुँ’, गृहमन्त्री लेखकले भने, ‘राजनीतिक पूर्वाग्रहबाट नियोजित रुपमा ममाथि जे जस्ता आरोप लगाइएका छन्, त्यसमा एक प्रतिशत पनि सत्यता छैन ।’
गृहमन्त्रीले त्रिवि, अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईको सरुवालाई पनि स्वभाविक भनेका छन् । आफूले विमानस्थलमा गलत कार्य भइरहेको सूचना पाएपछि भट्टराईलाई मन्त्रालय तानेको उनले जिकिर गरे ।
‘उहाँ (भट्टराई) ०७७ सालदेखि गृह मन्त्रालयमै हुनुहुन्छ, दुई वटा विभागको महानिर्देशक भइसकेको मान्छे हो’, लेखकले अघि भने, ‘उहाँ एयरपोर्टमा कार्यालय प्रमुख भएर जानुभयो, तर त्यहाँ जानु र अहिले मन्त्रालयमा आउनु प्रक्रियागत ढंगबाटै भएको छ, पूर्वाग्रही रुपमा गलत प्रचार गरियो ।’
गृहमन्त्री लेखकले सामाजिक सञ्जालमा प्रश्न उठ्दैमा नेतृत्वले राजीनामा दिँदै जाने हो भने गलत भाष्य स्थापित हुनेतर्फ सचेत गराए । आफूविरुद्ध गलत प्रचार हुँदा अन्याय भएको अनुभव सुनाउँदै थपे, ‘कर्मचारीमाथिको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो हामी कहाँ पुगौला ? सामाजिक सञ्जालमा प्रश्न उठेकै भरमा राजीनामा दिदै जाने हो भने के होला ? मैले पनि न्याय त पाउनुपर्ने होला नि, कि म न्याय पाउन नसक्न नागरिक हुँ ? म विरुद्ध कुनै उजुरी केही छैन, त्याे पनि सबैलाइ थाहा छ।’
विमानस्थलमा आफूभन्दा अघिका तीन गृहमन्त्रीको कार्यकालदेखि नै भिजिट भिसामा सेटिङ हुने गरेको गृहमन्त्रीको भनाई छ । ‘म नाम लिन चाहन्नँ, त्यतिबेला पनि प्रश्न उठेकै थिए, तर तत्कालीन गृहमन्त्रीहरुले राजीनामा दिनुभयो त ? तपाईहरु आफै विश्लेषण गर्नुहोस्’, उनले भने ।
गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता पनि जनाएका छन् ।
टिप्पणीहरू