महासंघपछि दुर्गा प्रसाई समूह पनि राजावादी आन्दोलनमा नलाग्ने
राजा फर्काउने जुनसुकै आन्दोलनमा आफ्नो समर्थन रहने भन्दै आएको दुर्गा प्रसाईं नेतृत्वको 'नागरिक बचाऊ महाभियान' ले आज काठमाडौँमा हुने राजावादी प्रदर्शनमा भने सहभागिता नजनाउने भएको छ ।
सो संगठनले विज्ञप्ति सार्वजनिक गर्दै कार्यकर्तालाई आन्दोलनमा नजान प्रष्ट निर्देशन दिएको हो । आजको आन्दोलन राप्रपाको नेतृत्वमा हुन लागेको र उनीहरुसँग महाभियानको कुनै सहकार्य नरहेको स्पष्ट पार्दै कुनै घटना घटे आफूहरु जिम्मेवार नरहनेसमेत जानकारी गराएको छ ।
'जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको जनान्दोलन भएकाले हाम्रो सहकार्य नरहेकाले सहभागी नहुन अनुरिधसहित्यको निर्देशन गर्दछौँ', महाभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बुले भने, 'कुनै घटना घटे महाभियान जिम्मेवार नहुने प्रष्ट निर्णय गरिएको छ ।'
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष रुचि र चासोमा राजावादी आन्दोलनको जनकमाण्डर बनाइएका उक्त अभियानका अध्यक्ष प्रसाईं अहिले प्रहरी हिरासतमा छन् । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनला मुख्य आरोपित उनीविरुद्ध कर्तव्य ज्यान, राज्यद्रोह र संगठित अपराधसहित विभिन्न ५ वटा कसूरमा मुद्दा चलाइएको छ ।
प्रसाईंको रिहाइका लागि जेठ १२ गतेदेखि माइतीघर मण्डलामा शुरु गरेको शान्तिपूर्ण सत्याग्रह आज एक दिनका स्थगित भएको महाभियानले जनाइएको छ ।
नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' को आह्वानमा राजेन्द्र लिङ्गदेनको राप्रपा, कमल थापाको राप्रपा नेपालसहितले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछन् । पूर्वराजा ज्ञानेन्द्र र उनका नाती हृदयन्द्रमध्ये एकलाई श्रीपेच पहिन्याएर नारायणहिटी प्रवेश नगराएसम्म आन्दोलनबाट पछि नहट्ने उद्घोष गरेका उनीहरुलाई राजावादी संघसंस्थाकै पूर्ण सहयोग भने देखिएको छैन ।
यसअघि राजासहितको हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएको विश्व हिन्दु महासंघ नेपालले पनि आजको आन्दोलनमा समर्थन नगर्ने घोषणा गरेको थियो । यो आन्दोलनले हिन्दु राष्ट्र कायम गर्न योगदान पुर्याउनेमा विश्वास नरहेको र अहिले चर्चामा रहेका पात्रहरुमा राजा बन्ने गुण नदेखिएकाले सडकमा ओर्लिनुको औचित्य नरहने महासंघले जनाएको छ ।
टिप्पणीहरू