‘गणतन्त्रमा जनताले वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले चुन्न सक्छन्’

‘गणतन्त्रमा जनताले वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले चुन्न सक्छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले वडा सदस्यदेखि राष्ट्रपतिसम्म जनताले चुन्न पाउने कुरा गणतान्त्रिक व्यवस्थामा मात्र सम्भव हुने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले सो भनाई राख्नुभएको हो । आफूलाई मन परेको प्रतिनिधि छान्न पाउने यो व्यवस्थाको राम्रो र नराम्रो दुवैको उत्तरदायित्व जनतामै हुने प्रम ओलीको भनाई छ । 

‘लोकतान्त्रिक गणतन्त्र–‘जनताको लागि, जनताद्वारा, जनताको’ शासन प्रणाली हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैंले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ’, उहाँले भन्नुभयो, ‘जनताको अधिकार र उत्तरदायित्वको संयोजन गर्न सक्दा मात्र गणतन्त्रले हाम्रो सुन्दर देश नेपाललाई विकास, समृद्धि र सुशासनको अत्युत्कर्षमा पुर्याउन सक्नेछ ।’

गणतन्त्रमा हरेक नागरिकको आत्मसम्मान सुरक्षित हुने र अहिले त्यो भइरहेको प्रधानमन्त्रीले दाबी गर्नुभयो । शिक्षा, स्वास्थ्य, उद्यम र रोजगारीका क्षेत्रमा धेरै प्रगति भएको उल्लेख गर्दै ओलीले यसमा अझै सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो ।

‘गणतन्त्रमा हरेक नागरिकको आत्मसम्मान सुरक्षित हुन्छ, भइरहेको छ । शिक्षा, स्वास्थ्य, उद्यम र रोजगारी – यी क्षेत्रमा धेरै परिवर्तन आएको छ । यसमा अझै सुधार ल्याउन आवश्यक छ । त्यसका लागि सरकार सक्रिय छ’, उहाँले भन्नुभयो, ‘सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौं– अर्थात् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौं ।’

गणतन्त्र कुनै दल विशेषको स्वामित्व नहुने भन्दै उहाँले जनता नै शासन सत्ताको मालिक हुने स्पष्ट पार्नुभएको छ ।
 

टिप्पणीहरू