पूर्व राजालाई चुनाव जितेर देखाउन चुनौती
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चलन गर्ने चाहना भए जनताको मन जित्न सल्लाह दिनुभएको छ । मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिष्पर्धाबाट प्रधानमन्त्री बन्न पनि उहाँले चुनौती दिनुभयो ।
गणतन्त्र दिवसको अवसरमा पार्टी मुख्यालय आलोकनगरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वंशको शासन अब नेपालमा सम्भव नहुने स्पष्ट पार्नुभयो । गणतन्त्रको विकल्प समुन्नत गणतन्त्र हुनुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले राजतन्त्र हुन नसक्ने जिकिर गर्नुभयो ।
‘राजतन्त्रको बारेमा कुरा उठिरहेको छ । बाबु भएन भने छोरा, छोरा भएन भने नाती, नातीले कुन दिन पनाती जन्माउँछ, जन्मिदै गरेको पनातीलाई जिम्मा दिउँ भन्नेकुरा आउला । त्यसकारण यस्तो वंशको शासन हामीलाई चाहिएको छैन’, पउरव प्रमसमेत रहेका उहाँले भन्नुभयो, ‘मुलुक सञ्चालन गर्ने यदी कसैलाई चिन्ता लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ । हामी प्रतिष्पर्धाको मैदानमा चुनौति दिन्छौँ । प्रतिष्पर्धाबाट जनताको मन र विश्वास जितेर अगाडि बढ्ने आँट गर्नुपर्यो ।’
मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेल्न अब सम्भव नरहेको अध्यक्ष नेपालको भनाइ छ । आम जनताको चाहना बमोजिम नै गणतन्त्र आएको उल्लेख गर्दै उहाँले परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
टिप्पणीहरू