यत्तिकै देश बन्दैन,गफले चिउरा भिज्दैन
नेपालीमा एउटा उक्ति छ ‘गफले चिउरा भिज्दैन’ । यसको अर्थ चिउरा मीठोसँग खाने हो भने भिजाउन कि दही,दूध वा मोही नै चाहिन्छ । सयौं वर्षअघि यस्तो कथन बनेको बेला अहिलेको जस्तो चियाको चलन थिएन । उक्तिको चुरो अर्थ कुनै पनि कुरो व्यवहारमा आउन, प्रयोगमा ल्याउन गफले मात्रै हुँदैन भन्ने हो ।
हाम्रोमा सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म, अधिृकतदेखि सचिवसम्म सबैले गफ लगाउने काम सिवाय केही गरेको देखिँदैन । व्यवहारमा उत्रेर टोल, समाज, क्षेत्र, जिल्ला, प्रदेश, मुलुकको विकासका लागि रणनीतिक सोचसमेत बनाउन नसकेको परिणाम मुलुकको पछिल्लो अवस्थाले देखाउँछ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि हिजो १९ खर्ब ६४ अर्ब ११ करोड बजेट घोषणा गर्नुभएको छ । चालु खर्च ६० प्रतिशत हाराहारी र विकास खर्च २१ प्रतिशत तोकिएको छ । आम्दानीतर्फ राजश्व, करको भार झण्डै ६७ प्रतिशत अनुमान गरिएको छ भने वैदेशिक ऋण र अनुदानको अंश विगतको तुलनामा खुम्चिँदै गएको उल्लेख छ । कृषि, उद्योग, रोजगारी ओरालो दिशातर्फ उन्मुख छ । सेवाक्षेत्र मात्रै हेर्न लायकको देखिन्छ भने अर्थतन्त्र विस्तारमा सरकारी योगदान र हैसियत क्रमशः घट्दै र कमजोर साबित भएको पाइन्छ ।
राजतन्त्र फ्याँकिएको १९ वर्ष र गणतन्त्र स्थापनाको १७ वर्ष पूरा हुँदा हाम्रो आर्थिक तथा सामाजिक अवस्थामा अन्य मुलुकको तुलनामा झन् नाजुक हुँदै गएको छ । राजनीतिक नेतृत्वले भिजन दिन सकेका छैनन् भने प्राविधिक तथा अन्य क्षेत्रको जनशक्तिले आफ्नो क्षमता प्रदर्शन गरेको देखिँदैन । आयातित खाद्यान्नले भान्छा, निजी विद्यालयले शिक्षा र निजी अस्पतालले स्वास्थ्य महँगो हुँदा सर्वसाधारणको दैनिकी तहसनहस हुँदै गएको छ ।
दुई ठूला छिमेकी मुलुक चीन र भारतले कृषि, उद्योग र सेवामा उल्लेख्य विकास गरिरहेका छन् । राज्यले जनताको जिम्मेवारी वहन गरेको देखिन्छ । यो मामिलामा चीन झन् अगाडि पाइन्छ । उनीहरुले तर्जुमा गर्ने नीति र कार्यान्वयन पक्षमा प्राविधिक जनशक्तिको प्रयोगले उच्च नतिजा प्राप्त भएकोमा दुई मत छैन ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नीति कार्यान्वयनमा कृषिको दिगो विकास, उत्पादन र बजारका लागि नयाँ छलाङ मार्ने उद्देश्यले एक जना बैंकर र अर्का एक जना वित्तीय क्षेत्रका हस्तीलाई नयाँ जिम्मेवारी सुम्पिएको छ ।
टिप्पणीहरू