अनेरास्ववियुमा उमेरहदको किचलो, पार्टी नेतृत्वमाथि 'घाँटी रेटे'को आरोप
सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागू गर्ने निर्णयले आन्तरिक किचलो चर्किएको छ । २४औं महाधिवेशनको सम्मुखमा लगाइएको उमेरहदका कारण अध्यक्षको आकाँक्ष राखेका महासचिव नरेश रोकायाले सामाजिक सञ्जालमा स्ट्याट्स लेखेर निर्णयको विरोध गरेका छन् ।
अनेरास्ववियुमा उमेर हदबन्दी लगाउने निर्णय पार्टी सञ्चालनको मूलभूत सिद्धान्तविपरीत रहेको उनको जिकिर छ । त्यसैगरी, उनले सो निर्णय तत्काल सच्याउन पार्टीका नेतृत्वहरुको ध्यानाकर्षण गराएका छन् ।
‘यहि जेठ ११ गते बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले (जुन बैठकमा समसामयिक राजनीतिक परिस्थितिबाहेक अरु एजेण्डा थिएन) एजेण्डामै नभएको विषय अनेरास्ववियुमा उमेर हदबन्दी लगाउने निर्णय पार्टी सञ्चालनको मूलभूत सिद्धान्तविपरीत रहेको छ’,उनले लेखेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको कट्टर विरोधीका रुपमा चिनिने पूर्वमन्त्री तथा स्थायी समिति सदस्य कर्ण थापाका नातेदार उनले संगठनको आन्तरिक जीवनमा खलल हुने र विद्यार्थी आन्दोलनको घाँटी रेटिने खालको निर्णय नगर्न पार्टी नेतृत्वलाई सुझाएका छन् ।
रोकायाले अगाडि भनेका छन्,‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति निर्माण भएर महाधिवेशनको सम्मुखमा पुगिसकेपछि एकाएक दुरगामी प्रभाव रहने, संगठनको आन्तरिक जीवन खलबल हुने र विद्यार्थी आन्दोलनको घाँटी रेटिने प्रकारको निर्णय किमार्थ गर्नुहुन्न, गर्न मिल्दैन ।’
सो स्ट्याट्सपछि उनले सन् २०२० अक्टोबरमा लेखेको एउटा स्ट्याट्स सामाजिक सञ्जालमा भाइरल बनेको छ । ३० वर्ष नपुग्दै अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका पार्टी महासचिव पोखरेलको उदाहरण दिँदै उनले अखिल र युवा संघमा पनि त्यसको आवश्यकता रहेको औंल्याएका थिए ।
४० वर्ष कटेर पनि अखिल र युवा संघको नेता हुन संघर्ष गर्नु परिररहेको उल्लेख गर्दै उनले सही व्यवस्थापनका निम्ति आवश्यक कदम चाल्न महासचिव पोखरेलसँग आग्रह गरेका थिए ।
उक्त स्ट्याट्समा भनिएको छ,‘दूरदर्शी र परिपक्व नेतृत्व, हाम्रो आदर्श, प्रिय नेता कमरेड शंकर पोखरेल कलिलो उमेरमै (३० वर्षमूनि) अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । अहिले हाम्रो पुस्ता (४० वर्ष) चालिस कटेर पनि अखिल र युवा संघको नेता हुन संघर्षरत छ । अब हजुरले अखिल र युवा आन्दोलनको सही व्यवस्थापनका निम्ति पार्टीको तर्फबाट एकपटक अपरेशन गरिदिनुपर्नेछ’,उनले लेखेका छन् ।
अखिल स्रोतका अनुसार उमेरहदका कारण अध्यक्षको दौडबाट स्वत: बाहिरिने अवस्था आएपछि उनीसहित केही व्यक्ति अहिले महासचिव पोखरेलको खोइरो खनिरहेका छन् । ‘त्यो स्ट्याट्स लेख्ने बेला ३२ वर्ष पुगेका थिएनन् होला । अब अहिले ३२ वर्ष पुगे, उमेरहदका कारण खेलबाट बाहिरिनुपर्यो, त्यसैले विरोध जनाएका हुन् । जसले पनि आफ्नो स्वार्थ त हेर्ने हो’,स्रोतले भन्यो ।
यता, महासचिव पोखरेलनिकट नेताहरुले भने रोकायाको माग पूरा गरिदिएको प्रतिक्रिया दिएका छन् । एक नेता भन्छन्,‘विगतदेखि नै उनीहरु उमेरहद लगाउने पक्षमा थिए । सोहीअनुरुप निर्णय गरिएको हो । अहिले महासचिवलाई सत्तोसराप गरेर कुनै फाइदा छैन् ।’
उमेरहद नलाग्दासम्म रोकायासहित गोविन्द गिरी, नारायण घर्तीलगायत अध्यक्षका आकांक्षी थिए । रोकायालाई अध्यक्षको बलियो दाबेदारको रुपमा हेरिएको थियो । तर, पार्टी सचिवालयको पछिल्लो (५२ औं) बैठकपछि उनी अध्यक्षको दौडबाट बाहिरिनुपरेको छ ।
३२ वर्ष उमेर नकटेका सचिवहरु दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, डा. सुजन कडरिया र अञ्जना सिवाकोटीले अब अनेरास्ववियुको नेतृत्वमा दाबी गर्ने देखिएको छ ।

टिप्पणीहरू