आलमलाई चोख्याउने न्यायाधीशविरुद्ध उजुरी

आलमलाई चोख्याउने न्यायाधीशविरुद्ध उजुरी

रौतहट नरसंहारका आरोपित नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी परेको छ । 

आफूलाई देशभक्त न्यायिक अभियन्ता भनाउने सिन्धुलीका युवराज पौडेल सफलले आज उजुरी दर्ता गराएका हुन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई तत्काल निलम्बन गर्न उजुरीपत्रमा माग गरिएको छ । 

जिउँदो मानिसलाई इँट्टाभट्टमा जलाएको अभियोगमा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भइ जन्मकैदको सजाय पाएका आलमलाई अस्ति बुधबार न्यायाधीशद्वयले सफाइ दिएका थिए । कारागारमा कैद भुक्तान गरिरहेका आलम लगत्तै छुटे । 

गम्भीर अपराधका कसुरदारलाई यसरी उन्मुक्ति दिँदा पीडितको न्याय प्राप्तिको मार्गमा अवरोध खडा भएको जिकिर गर्दै उजुरकर्ता सफलले न्यायाधीश थारु र महर्जनलाई निलम्बन गर्न र आवश्यक अनुसन्धान अघि बढाउन माग गरेका छन् । 

‘उल्लेखित न्यायाधीशको आदेशले पीडतहरुको न्यायिक बाटोमा अवरोध सिर्जना गर्दै झन् पीडित, साक्षी र प्रत्यक्षदर्शीको जिउज्यान समेत असुरक्षित भएको अवस्था छ’, उजुरीमा भनिएकाे छ, ‘हालसम्म गरेका न्याय सम्पादनको कार्या एंंव निजहरुले गरेका आदेशहरु परीक्षण गर्न, न्यायाधीशरुलाई तत्काल निलम्बन गर्न र न्याय परिषद् सचिवालय ऐन बमोजिम अन्य विभागीय कारवाही गर्न माग गर्दछु ।’

आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी जिउँदै मान्छेलाई इँट्टा भट्टामा पोलेर मारेको अभियोग छ । पहिलो संविधान सभाका बेला २०६४ फागुन २७ गते आलमको घर नजिक बम बनाउने क्रममा बिस्फोट हुँदा आठ जना घाइते भएका थिए । घाइते सबैलाई नजिकैको इँट्टाभट्टामा जलाएको आलममाथि आरोप छ ।

घटनाको १२ वर्षपछि रौतहट प्रहरीले उनलाई २०७६ असोजमा पक्राउ गरेको थियो । गत वर्ष वैशाख १३ गते जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकेको थियो । त्यसपछि उनले थुनाभित्रैबाट उच्च अदालतमा निवेदन दिएकोमा बुधबार सफाई पाएलगत्तै छुटेका हुन् ।

टिप्पणीहरू