‘अनुसन्धानको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालियो’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार काण्डमा मुछिएका ‘ठूला माछा’ माथि गम्भीर छानविन हुनुपर्नेमा जोड दिनुभएको छ ।
आफूले भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण कांग्रेस र एमालेले मिलेर सरकारबाट अपदस्त गरेको जिकिर गर्दै उहाँको यस्तो भनाइ आएको हो । सरकारको नेतृत्वमा रहेका बेला ‘म माथि पनि छानविन गर’ भन्ने आफू पहिलो प्रधानमन्त्री भएको स्मरण गर्दै
प्रचण्डले तर अहिलेको प्रधानमन्त्रीमा त्यो आँट नभएको दाबी गर्नुभयो ।
शेरा दरबार र क्यान्टोन्मेन्ट घोटालामा आफ्नो नाम बेफ्वांकमा जोडेर प्रचार गरिएको उल्लेख गर्दै उहाँले दुबै प्रकरणमा आफूबाटै अनुसन्धान शुरु गर्न सरकारलाई चुनौतीसमेत दिनुभयो ।
‘भ्रष्टाचारविरुद्धको अभियान चलाएपछि मैले मेरै पार्टीकै नेताहरुलाई समेत जेल हालेको छु’, उहाँले भन्नुभयो, ‘अहिले केपीजीलाई पनि भनिरहेको छु कि शेरादरबार र क्यान्टोनमेन्टमा मेरो नाम जोडेर जुन हल्ला गरिएको छ, त्यसमा मलाई पनि छानविन गर्नुस्, म जस्तो सुकै अनुसन्धान पनि फेस गर्न तयार छु ।’
अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा भ्रष्टाचार अनुसन्धानको सुई बूढानीलकण्ठ र बालकोटतिर सोझिएपछि एमाले र कांग्रेसले रातारात नयाँ सरकार बनाएको जिकिर दोहोर्याउनु भएको छ । ‘म त कसैलाई पनि नछाड्ने मूडमा थिए, जो जो दोषी हुन्छन्, सबैलाई भित्र (जेल) हाल्ने मन थियो, तर मनमा खोट भएकाहरु पहिल्यै डराएर, ३२ सिटको प्रचण्डले नछाड्ने भयो भन्ने देखेपछि रातारात विचौलियाको गोप्य कोठामा नयाँ गठबन्धन बनाएका हुन्’, गएराति एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्डले भन्नुभयो ।
पूर्व सहकर्मीसमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई उहाँले बुद्धि नभएको मान्छेको संज्ञासमेत दिनुभएको छ । ‘बाबुरामजी डाक्टर त डाक्टर नै हो, तर बुद्धि नभएको डाक्टर, यतिसम्मको बुद्धि नभएको पनि डाक्टर हुँदो रहेछन् भन्ने उदाहरण बन्नुभएको छ’, प्रचण्डले थप्नुभयो ।
टिप्पणीहरू