विश्वकप लिग २ मा नेपाल स्कटल्याण्डसँग भिड्दै

विश्वकप लिग २ मा नेपाल स्कटल्याण्डसँग भिड्दै

आईसीसी विश्वकप लिग २ अन्तर्गत आजबाट शुरु हुने त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्ड र नेपाल भिड्दैछन् । डुन्डेस्थित फोर्टहिलमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ । 

जुन १२ सम्म चल्ने प्रतियोगितामा नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल जुन ४ मा नेदरल्यान्ड्स, तेस्रो खेल जुन ८ मा स्कटल्याण्ड र चौथो खेल जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

आठ टोली सम्मिलित लिगमा हाल स्कटल्याण्ड १६ खेलबाट २० अंक जोड्दै तालिकाको चौथो स्थानमा छ भने नेपाल १२ खेलबाट ६ अंक जोड्दै तालिकाको पुछारमा छ । जारी लिगमा नेपालले निराशाजनक प्रदर्शन गर्दा आफ्नो पछिल्लो पाँच खेलमा एक खेलमात्र जित्न सकेको छ ।

लिग २ को पछिल्लो १२ खेलमा नेपालले दुई जित र ८ हारको नतिजा निकाल्दा दुई खेल रद्द भएको छ । नेपाललाई लिगमा आफ्नो स्थान सुधार गर्न यस सिरिज निकै महत्वपूर्ण रहेको छ ।

दुई टोलीबीचको पछिल्लो पाँच खेललाई हेर्ने हो भने नेपाल हाबी देखिएको छ । पछिल्लो पाँच खेलमा नेपालले तीन जित निकाल्दा स्कटल्याण्डले एक खेल आफ्नो पक्षमा पार्न सकेको छ भने एक खेल रद्ध भएको छ ।

नेपाल नयाँ प्रशिक्षक स्टुअर्ट लको प्रशिक्षणमा आज पहिलो आधिकारिक खेल खेल्न लागेको हो । यसअघिको तीन सिरिजमा लज्जास्पद प्रदर्शन गरेको नेपाल नयाँ प्रशिक्षकको नेतृत्वमा यस सिरिजमार्फत पुनरागमन गर्ने लक्ष्यमा रहेको छ । नेपालले यस सिरिजको लागि दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्टेन प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

स्कटल्याण्ड भ्रमणअघि नेपालले इंग्ल्याण्डका स्थानीय क्लबहरुसँग चार अभ्यास खेल खेलेको थियो । न्युपोर्ट, एमसीसी, ग्लामोर्गनसँग एक दिवसीय र ग्लोसेन्टरशायरसँग टी २० खेल खेल्दा सबै खेलमा विजयी भएको थियो । त्यसैले नेपाल उच्च मनोबलसहित स्कटल्याण्ड प्रस्थान गरेको थियो । इंग्ल्याण्डको अभ्यास खेलले नेपाललाई त्यहाँको पिच र मौसममा बुझ्न मद्दत पुर्याएको थियो । त्यसपछि नेपालले स्कटल्याण्ड ’ए’सँग दुई अभ्यास खेल खेलेको थियो ।

टिप्पणीहरू