गगनको नयाँ चिन्ता
सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजावादी आन्दोलनमा लागेका युवाहरुको सोचप्रति सहानुभूति व्यक्त गरेका छन् । नयाँ पुस्ताका युवाहरु गाडीको मर्मत गर्न र चालक फेर्न लाग्नुपर्नेमा बाटो फेर्ने असम्भव सपनाको पछाडि लागेकोमा उनले चिन्ता व्यक्त गरेका हुन् ।
आज बाँकेमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै ‘संविधानको लोकमार्ग’मा अब सक्षम चालकले गाडी कुदाउनुपर्ने बताए । ‘नयाँ संविधान बनाएर हामीले नयाँ हाइवे सुरु गर्यौ, त्यो हाइवेमा धेरै गाडीहरु आए, गाडीहरु चालकले चलाए’, थापाले उदाहरण दिँदै भने, ‘तर अहिले युवाहरुले नै ती चालकले गाडी राम्ररी चलाउन सकेनन्, बाटो खराब भयो भनेर नयाँ बाटोको माग गरिरहेका छन् ।’
थापाले त्यस्तो सोच भएकाहरुलाई कांग्रेसले बुझाउनुपर्ने बताए । कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘अब कांग्रेसले भन्नुपर्छ कि यो बाटो खराब होइन, यो हामीले रोजेर बनाएको बाटो हो, बरु त्यहाँ चलिरहेका गाडी र चालकमा समस्या छ, ती गाडीलाई अब मर्मत गरेर नयाँ चालक बदल्नुपर्छ ।’
बाटो खराब भयो भन्दैमा नयाँ बाटो बनाउन लाग्ने हो भने नेपाली जनताको १० वर्ष उपलप्धीविही हुने उनको विश्लेषण छ । ‘गाडीको नयाँ चालक खोज्न छाडेर, गाडी मर्मत गर्न छाडेर बाटो नै नयाँ बनाउनुपर्छ भन्नेतिर लाग्यौँ भने हाम्रो अर्को १० वर्ष गयो, अनि कहिलेसम्म गरिरहने हो यो सब ?’ उनले थपे ।
टिप्पणीहरू