एमालेतिर सोझिएको प्रश्नमा प्रधानमन्त्री दम्पत्तिलाई मात्रै किन सास्ती ?

एमालेतिर सोझिएको प्रश्नमा प्रधानमन्त्री दम्पत्तिलाई मात्रै किन सास्ती ?

'प्रधानमन्त्री केपी शर्मा ओलीले,हामीले यत्रो वर्ष देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौं । भागेर जान अरू कुनै देशमा सम्पत्ति थुपारेर राखेका छैनौं, हामी भाग्दैनौं,कतै जाँदैनौं पनि, एक थोपा रगत भएसम्म देशका लागि लड्छौं',आइतबार एउटा सार्वजनिक कार्यक्रममा प्रथम महिला राधिका शाक्यले यसो भन्नुभयो । केही दिनअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले हेलिकोप्टरमा भाग्ने तयारीमा रहन प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका थिए । राधिकाले कसैको नाम नलिई गरेको शालीन टिप्पणी वास्तवमा लिङ्गदेनलाई दिएको जवाफ थियो । 

बूढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाहरुको एउटा समूहले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा 'लेखिका' सम्बोधनसहित 'राधिका आमा' लाई बोल्न लगाइएको थियो । त्यसक्रममा उहाँले आफ्नो स्वाभाविक शैलीविपरित सरकार र प्रधानमन्त्रीको जमेर बचाऊ गर्नुभयो । ‘केही भएन भन्नेहरूले एक पटक देश घुम्नुस्,हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरू अध्ययन गर्नस्,प्रजातन्त्र स्थापनापछि देशमा कति धेरै परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो’, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा धेरैपटक यस्तै तर्क गर्नुभएको छ ।

सात लाख संगठित सदस्य रहेको दाबी गर्ने एमालेमा अध्यक्ष र उहाँकी धर्मपत्नी नै अगाडि सर्नुपर्ने भएको हो त ? 

यसअघि आफ्नै पुस्तक 'करुणा' माथि छलफल गर्न धुलिखेलमा आयोजना गरिएको एउटा कार्यक्रममा पनि राधिका यसैगरी सरकारको बचाउमा उत्रनुभएको थियो । अलिअगाडि ओलीलाई सराप्नेलाई तीन पुस्ता पोल्छ भन्दै श्राप  दिनुभयो । सामान्यतया कम बोल्ने र विवादित अभिव्यक्ति नदिने प्रधानमन्त्री पत्नी राधिकाको छवि छ । शीर्ष नेताका श्रीमती र परिवारका सदस्यहरुमाथि राज्य शक्तिको दुरुपयोग गर्ने गरेको आरोप लागिरहँदा उहाँ भने अपवाद हुनुहुन्छ । दुई वटा विषयमा स्नातकोत्तर गर्नुभएकी शालीन व्यक्तित्वको धनी उहाँले आफू राजनीतिबाट टाढा रहेको र शक्ति अभ्यासको भोक नरहेको धेरैचोटि प्रष्ट्याइसक्नु भएको छ । तर,पछिल्ला दिनमा भने उहाँ सरकार र प्रधानमन्त्री ओलीको बचाउमा निरन्तर बोल्न थालेपछि विगतमा 'आइ लभ यु केपी बा' को नारा लगाउने एमाले कार्यकर्ता लोप भएको टिप्पणी हुन थालेको छ ।

 

अध्यक्ष ओलीले सरकार र आफ्नो बचाउमा कार्यकर्ता परिचालित नभएकोमा असन्तुष्टि पोख्ने गर्नुभएको छ । पार्टीको सचिवालय बैठकमा पटक-पटक उहाँले युवा संघ, अखिललगायत जनसंगठनका नेताको नामै लिएर आक्रोश जनाउनुभएको थियो । तर, पनि सञ्जालमा लेख्नसमेत जाँगर नचलाएका एमाले कार्यकर्ता फिल्डमा उत्रिएका छैनन् । जेठ १५ गते राजावादीलाई काउन्टर दिन आह्वान गरेको कार्यक्रम लज्जास्पद बनेपछि ओली आफैँ 'म झोले हो' भन्दै फेसबुकमा अभियान चलाउन थाल्नुभएको छ । एकातिर अध्यक्ष झोले अभियानमा लाग्ने,अर्कोतिर राजेन्द्र लिङ्गदेनलाई राधिकाले जवाफ दिनुपर्ने भएपछि प्रश्न उठेको छ- सात लाख संगठित सदस्य रहेको दाबी गर्ने एमालेमा अध्यक्ष र उहाँकी धर्मपत्नी नै अगाडि सर्नुपर्ने भएको हो त ? 

कार्यकर्ताले भन्नुपर्ने कुरा उनीहरु नबोलेपछि म्याडम आफैँ अग्रसर हुनुपरेको एमालेका एकथरी कार्यकर्ताको बुझाई छ । अहिलेसम्म विवादमा नपरेकी राधिका आमालाई यस्ता छुच्चो विषयमा बोल्न बाध्य पारिएकोमा चिन्ता गर्दै युवासंघका एक नेता भन्छन्, 'उहाँलाई कसैले उकासेका हुन् कि आफैँ बोल्नुभएको हो थाहा भएन । तर यत्रो कार्यकर्तापंक्ति भएको पार्टीमा नेतृत्वको बचाऊ हामीले नै गर्ने हो,उहाँ नबोल्दै श्रेयष्कर हुन्छ ।' 

अध्यक्ष ओली एक्लै सरकारको बचाउमा बोलिरहँदा यता पार्टीको प्रचार मोर्चा भने अस्तव्यस्त देखिन्छ । प्रेस चौतारीका निवर्तमान उपाध्यक्ष देवीका घर्ति मगरको असन्तुष्टि बाहिरै पोखिएको छ भने इन्द्रप्रसाद आचार्यले प्रचार विभागबाट राजीनामा दिएका छन् । रुवाबासीका बीच विराटनगर महाधिवेशनबाट चुनिएको गणेश पाण्डे नेतृत्वको नयाँ कमिटी सृजनशील काममा भन्दा नेताको भक्तिगानमा अल्मलिएको आरोप लागिरहेको छ । पछिल्लो पटक प्रेस काउन्सिलमा सदस्य नियुक्त गर्दा संगठनमा छलफल गर्नुको साटो नेताले टिपेका मान्छेलाई सुटुक्क लगिएको भन्दै अर्को रडाको छ । 

सरकारले हिजो प्रेस युनियन र प्रेस चौतारीबाट ३-३ जना भाग लगाएर काउन्सिलमा ६ जनालाई सदस्य नियुक्त गरेको थियो । त्यसमध्ये निमा काफ्ले, भीमलाल श्रेष्ठ र शन्तराम बिडारी चौतारीका हुन् । 

यता,बालुवाटारमा बसेर रजगज गर्दै आएका अस्गर अलीहरुका कारण पनि कार्यकर्तापंक्तिले सरकारको बचाउमा बोल्न जाँगर नचलाएको बुझिन्छ । अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा आइटी विज्ञका रुपमा सिंहदरबार छिरेका उनी अहिले पनि त्यही जिम्मेवारीमा छन् । अघिल्लोचोटि सरकारी सूचना ‘लिक’ गरेको आरोप लागेका उनीमाथि यसपटक प्रधानमन्त्री कार्यालयमै छायाँ शिक्षा मन्त्रालय चलाएको आरोप लागिरहेको छ । तर, अली कति शक्तिशाली भने उल्टै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुपर्यो । पार्टी संगठनमा कुनै भूमिका नभएका अस्गर अलीजस्ता पात्र सँधै नेतृत्वको रोजाइमा परिरहने भएपछि हामी किन बोल्ने भन्ने मनोविज्ञान एमालेको शीर्ष तहमै देखिन्छ ।

टिप्पणीहरू