विद्या भण्डारीलाई बोलाएर चीनले दिएको सन्देश

विद्या भण्डारीलाई बोलाएर चीनले दिएको सन्देश

सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेकी पूर्व राष्ट्रपति विद्योदवी भण्डारी १० दिन लामो चीन भ्रमण सकेर सोमबार काठमाडौं उत्रिइन् । जेठ १० गते १५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन गएकी उनी फर्किँदा उत्साहित थिइन् । काठमाडौँ ओर्लिएपछि त्रिभुवन विमानस्थलमा  भण्डारीले भ्रमण राम्रो भएको छोटो प्रतिक्रिया दिइन् । भ्रमण राम्रो र उपलब्धिमूलक रहेको उल्लेख गरे पनि वामपन्थी एकताको प्रसंगबारे भने केही खुलाइनन् । 

पूर्व राष्ट्रपति भण्डारी विमानस्थलबाट भंगालतिर लागेपछि उद्योगमन्त्री दामेदर भण्डारीले भ्रमणबारे बेलिबिस्तार लगाउँदै उपलब्धिमूलक भएको निष्कर्ष सुनाए । ‘नेपालको प्रतिनिधित्व गरेर पुगेको हाम्रो टोलीलाई चीनको फोरममा उच्च सम्मान र सद्भाव मिल्यो । यस भ्रमणलाई सद्भावपूर्ण मान्न सकिन्छ’, उनले निचोडमा भने, ‘आर्थिक कूटनीति र सांस्कृति सम्बन्धलाई विकसित गर्ने हिसाबले यो भ्रमणको महत्व छ । टोलीलाई चिनियाँ पक्षबाट उच्च सम्मान र स्वागत प्रदान भएको छ ।’

मन्त्री भण्डारीले पूर्व राष्ट्रपतिको भ्रमणलाई कम्युनिस्ट एकता र एमालेको नेतृत्वमा फर्किने सन्दर्भमा जोडेर व्याख्या गर्न नहुने पनि बताए । ‘अहिले त्यो सन्दर्भ भ्रमणसँग जोड्न हुँदैन । त्यसबारे पार्टी नेतृत्वले परामर्श गर्छ । यो भ्रमण सद्भावूर्ण थियो’, उनले भने, ‘६० वटा मुलुक सहभागी सम्मेलनमा नेपालको प्रतिनिधित्व भएको छ । सरकार र पार्टी दुवैको प्रतिनिधित्वले राम्रो सन्देश दिएको छ ।’

यो त भयो, भ्रमण टोलीका सदस्य मन्त्री भण्डारीले दिएको औपचारिक प्रतिक्रिया । तर, यो भ्रमणले दिएको राजनीतिक सन्देश के होला ? भ्रमण दलमा रहेका एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्व राष्ट्रपति भण्डारीमार्फत् चीनले तीनवटा सन्देश दिएको बताए । पहिलो नेपालमा राजा वा अन्य स्थायी शक्ति खोजी गरेको कुराको खण्डन, दोस्रोमा कम्युनिस्ट शक्तिबीच मित्रता र एकताको वातावरण तथा तेस्रो जुनजुन दल मिलेर भए पनि स्थिर सरकार बनाएर अहिलेको व्यवस्था बलियो बनाएर अघि बढ्नुपर्ने । यी तीन सन्देशमार्फत् चीनले नेपालमा पहिलो प्राथमिकतासहित खोजेको कुरा हो राजनीतिक स्थायित्व । 

राजधानी बेइजिङ र अन्य सहरमा भएका उच्चस्तरका राजनीतिक भेटमा चिनियाँ नेताहरूले नेपालको राजनीतिक व्यवस्था बलियो बनाउन जोड दिएका थिए । २०८१ मंसिरमा बेल्ट एन्ड रोड परियोजना कार्यान्वयनका लागि फ्रेमर्वक सम्झौतामा हस्ताक्षर भएको अवस्थामा त्यसको कार्यान्वयनका लागि चीनले नेपालमा स्थिरताको खोजी गरेको हो । नेता थापाका अनुसार नेपालको हितका लागि चीनले उच्च सम्मान व्यक्त गरेको गरेको छ । 

‘चिनियाँ सरकारको तर्फबाट राम्रो स्वागत मिलेको छ । त्यसक्रममा भएको उच्चस्तरको छलफलमा दुई देशबीचको सम्बन्ध बलियो बनाउने विषयमा कुरा भएको छ’, उनले भने, ‘कांग्रेस र एमाले मिलेर देशको राजनीतिलाई स्थायित्व दिने प्रयास गरेकोमा चीनले खुसी व्यक्त गरेको छ । राजनीतिक स्थायित्वका लागि अहिलेको गठबन्धन ठीक छ भन्ने सन्देश आएको छ ।’

चिनियाँ नेताहरूले नेपालमा स्थायित्व भए अनावश्यक भूराजनीतिक तनावमा अल्झिनुनपर्ने निचोड निकालेका छन् । ‘नेपालमा राजनीति स्थायित्वको ग्यारेन्टी भनेको दलहरू मिलेर प्रणाली जोगाउनु पर्‍यो । जनताको आकांक्षा परिपूर्ति गर्ने पनि दलहरूले नै हो भन्ने बुझाइ चिनियाँ नेताहरूको थियो’, थापाले भने, ‘उनीहरू नेपालमा कुनै तानाशाही र निरंकुशताको पक्षमा छैनन् । स्थायी शक्ति राजा भन्ने बेकार हो । अब चीन नेपालमा राजाको पछि लाग्छ भन्ने हल्ला असत्य हो, त्यो हल्लाले अब काम गर्दैन । चीन नेपालमा स्थायी शक्ति चाहन्छ भन्ने हल्ला बेकार हो । त्यो शतप्रतिशत झूट हो ।’

चीनले पूर्व राष्ट्रपतिमार्फत् दलहरूले नै मिलेर लोकतन्त्र बलियो बनाउनुपर्छ, जनताको आकांक्षा पूरा गर्नुपर्छ भन्ने पक्षमा उनीहरू दृढ रहेका प्रष्ट सन्देश पठाएका छन् । 

वाम एकता 

चीनले दलहरूसँगै सहकार्य बलियो बनाउन चाहिरहँदा कम्युनिस्ट एकताको शुभेच्छा पनि व्यक्त गरेको छ । उसले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका कम्युनिस्ट घटकहरू एकैठाउँ हुँदा राजनीतिक स्थिरता हुने र आफूलाई सहकार्य गर्न पनि सहज हुने सन्देश सुनाएको हो । राजनीतिक स्थायित्वका लागि दलहरू बलियो हुनुपर्छ भन्ने धारणा भेटका क्रममा सबैजसो चिनियाँ नेताले राखेका थिए । थापाका अनुसार त्यसका लागि लागि वामपन्थी एकता हुनुपर्छ, त्यसरी एकता भयो भने सशक्त र बलियो कम्युनिस्ट शक्ति नेपालमा बन्छ भन्ने त्यहाँका नेतारूको चाहाना छ । उनीहरू कम्युनिस्ट भएकाले नेपालमा पनि कम्युनिस्टहरू मिलुन्, जुटून् भन्ने चाहाना हुने कुरालाई स्वभाविक मान्नुपर्ने उनको तर्क छ । 

चीन अहिले विश्वको प्रमुख शक्ति बन्ने दौडमा छ । अमेरिकालाई व्यापार युद्धमा घुँडा टेकाइसकेको उसले छिमेकमा झगडा चाहेको छैन । ‘विश्वको प्रमुख शक्ति बन्ने तयारीमा चीन रहेको हुनाले छिमेकीमा पनि लडाइँ, झगडा गरेर होइन, दलहरू मिलेर अघि बढुन् भन्ने चाहना राखेको छ’, थापाले भने, ‘सबै छिमेकी राष्ट्रसँग, खासगरि एसियाका राष्ट्रसँग उसले तनावमुक्त सम्बन्ध चाहेको छ ।  सबैको एकता कायम होस, सबैको सहकार्य बचिरहोस्, एकअर्कालाई सहयोग बढोस् भन्ने उनीहरूको चाहाना छ ।’

पूर्व राष्ट्रपतिको टोलीसँगको भेटका क्रममा चीनलले आर्थिक विकासबाटै शक्ति आर्जन गर्नुपर्ने रणनीति पनि सुनाएका थिए । आर्थिक विकासका माध्यमबाट शक्ति आर्जन गर्ने उनीहरूको मुख्य नीति छ अहिले । त्यसैले एसियाभरका मान्छेलाई चीनले यसपटक बोलाएको हो । नेपालबाट पूर्व राष्ट्रपति भण्डारीले कान्सु प्रान्तको डुन्ह्वाङमा आयोजित सभ्यताहरूबीचको आदान प्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रमलाई मुख्य वक्ताका रुपमा सम्बोधन गरिन् । जहाँ उनले विभिन्न संस्कृतिको सुन्दर बगैँचा रहेको संसारमा विविध जातीय समूह, भाषा र संस्कृतिक संगम सहअस्तित्व रहेको उल्लेख गरिन् ।

पूर्व राष्ट्रपतिमार्फत् चीनले नेपालका कुनै नेता या व्यक्तिलाई ठोस सन्देश भने पठाएको छैन । ‘नेपालमा सिंगै वामपन्थी आन्दोलनको एकताको आवश्यकता छ, त्यसका लागि लाग्नुस् भनेको छ । पूर्व राष्ट्रपतिलाई त्यसमा जुट्नुस् भनेको छ । तपाईंलाई यसमा शुभेच्छा छ भनेको छ’, थापाले भने ।  

बीआरईबारे के भयो ? 

पूर्व राष्ट्रपति भण्डारी निकट एमाले नेता थापाका अनुसार बीआरआई परियोजना चीनका लागि ग्लोबल इनिसियटिभ हो । त्यसअन्तर्गतको सबैभन्दा ठूलो र महत्वपूर्ण परियोजना बीआरआई हो । यो परियोजना आजको होइन, रेशम मार्ग हुँदादेखिको हो । रेशम मार्ग जुनवाङ भन्ने ठाउँबाट सुरू भएको हो ।

‘शिल्क रोड जुनवाङबाटै सुरू भएकाले पूर्वराष्ट्रपतिज्यूलाई त्यहाँको महत्व बुझाउन चीनले घुमाएको छ । उनीहरूको उच्च प्राथमिकताको अन्तर्राष्ट्रिय विकास परियोजना हो’, उनले भने, ‘विभिन्न राष्ट्रका आ–आफ्‌ना सभया हुन्छन् । उनीहरूले त्यो आफ्‌नो पुरानो परियोजना शिल्क रोडको महत्व बुझाउन खोजेका छन् ।’

शिल्करोड त्यसबेला युरोपसम्मै फैलिएको थियो । वर्तमान राष्ट्रपति सी चिनफिङले नयाँ ढंगले अघि बढाउन खोजेका छन् । त्यसबाट प्राप्त हुने उपलब्धि सबै देशले हाँसिल गरुन् भन्ने चीनको चाहाना देखिन्छ । त्यसैकारण बीआरआई चीनको मात्रै नभई युरोप र पूरै विश्वको प्रमुख चासोको विषय बनेको छ । त्यहि भएर चीन सरकारले उच्च प्राथमिकतामा रहको छ । नेपालले पनि बीआरआईअन्तर्गत १० वटा योजनाहरू फ्रेमवर्कमा छानेको छ । त्यसको पनि कार्यान्वयन हुनुपर्छ भन्ने सन्देश चीनले यसपटक दिएको छ ।

‘त्यसबारेमा पूर्व राष्ट्रपतिज्यूले कुरा राख्नु भएको छ । नेपाल र चीनबीच भएका सहमति, सम्झौता र सहकार्य आदानप्रदानलाई व्यवहारिक रुपमा कार्यान्वयनको पाटोमा उनीहरूको पनि गहिरो रुचि छ, चासो छ’, थापाले थपे, ‘केपी शर्मा ओली प्रधानमन्त्री भएपछिका सम्झौता कार्यान्वयनबारे पनि कुरा भएको छ मुख्य रुपमा ।’

पूर्व राष्ट्रपति भण्डारीले कान्सुमा आयोजित ‘आधुनिक विकासमा सभ्यतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सम्बोधन गर्दै बीआरआईबारे चीनलाई आश्वस्त पार्ने कोसिस पनि गरिन् । ‘बीरआरआई परियोजना नेपालले अघि बढाउनु पर्छ, चीनले अघि बढाएको यो विकास परियोजना नेपालसहितका छिमेकको हितमा छ’, उनले भनिन् । चीनलाई बीआरआई कार्यान्वयन हुने विश्वास दिलाउने खोजेको प्रष्टै बुझिन्थ्यो ।

कांग्रेस–एमाले सरकारबारे चीनलाई सरोकार नै नरहेको थापाको तर्क छ । ‘त्यस्तो कुरामा उनीहरूको सरोकार छैन । चिनियाँहरू त्यति तलसम्म झरेका छैनन् । उनीहरू नेपालमा सबै पार्टीहरू मिलेर सरकार बलियो बनाएको र राज्य बलियो बनाएको हेर्न चाहान्छन्‌’, उनले अगाडि भने, ‘माथि भनेजस्तो कुन दल कोसँग मिले भन्नेमा उनीहरूको गहिरो अभिरुचि छैन । त्यो ढंगले कुरा भएको पनि छैन । तर सीमा जोडिएको छिमेकमा उनीहरू मुख्य रुपमा राजनीतिक स्थायित्व चाहान्छन् । पार्टीको कुरामा उनीहरू प्रवेश गर्दैनन्, उनीहरूसँग सम्बन्धित विषय पनि होइन त्यो। नेपालबाट गएको टोलीले पनि त्यस्तो कुरा गरिएन ।’ 

चिनियाँले नेपालमा कम्युनिस्ट पार्टीहरु मिलेर जाऊन् भन्ने चाहना राखेको कुरा चै थापाले लुकाएनन् ।तर, त्यसलाई उनीहरूको शुभेच्छा मात्रै हो भन्छन् उनी । कम्युनिस्ट पार्टीकै नेतृत्वमा राज्य चलाइरहेको एउटा छिमेकीले नेपालमा पनि कम्युनिस्ट मिलून् भन्नु स्वभाविक हुने धारणा उनको छ ।

‘उनीहरूले कम्युनिस्ट मिलेको देख्न चाहेका छन् । कम्युनिस्ट पार्टी हुनुको नाताले नेपालमा सहकार्य गर्न कम्युनिस्टसँगै सजिलो हुने ठम्याई अनुसार एकताको शुभेच्छा व्यक्त गरिएको हो’, थापाले भने । उनको बुझाईमा चीनले एमालेसहित अन्य दलभित्र र नेपालको आन्तरिक कुरामा न हस्तक्षेप नै गर्ने मनासय छ न चासो नै छ । उनीहरूले नेपालमा चाहेको राजनीतिक स्थायित्व हो ।  तल्लो तहसम्म उनीहरू झरेर चलखेल गर्ने पक्षमा छैनन् । नेता थापाले विद्या भण्डारीलाई चीनले दिएको सम्मान, आदर र सत्कार उदाहरणीय रहेको बताए ।

‘उहाँलाई चीनले नेपालको एउटा विशिष्ठस्तरको नेताका रुपमा सम्मान गर्‍यो । त्यो अनुसारको व्यवहार गर्‍यो । चीनले ‘हाई लेभल डेगिगेशन’ भनेर लेखेकै छ नि’, थप्दै भने, ‘त्यसक्रममा भेट धेरै जनासँग भयो । उपराष्ट्रपतिसँग भयो । विदेश विभाग प्रमुखसँग भयो । राष्ट्रपति सी चिनफिङको प्रत्यक्ष संवादअनुसार नै उच्च तहको भेटघाट भएको हो ।’

‘त्यो त अब हाम्रो आन्तरिक कुरा भयो । त्यो सबै कुरामा हाम्रा पार्टीहरूले उचित कदम चाल्नुपर्छ, निर्णय लिन सक्नु पर्छ । चीनको शुभेच्छा भनेको नेपालका वामदल मिलून भन्ने हो’, वाम एकताबारे खुलाउँदै उनले भने । त्यस्तै, यसअघि नै भण्डारीले कम्युनिस्ट पार्टी मिलाउन सक्रियता देखाइसकेकाले अब तनाव नहुने तर्क उनको छ । 

‘एकताबारे त उहाँले पहलकदमी लिन्छु भन्नु भएकै छ नि, लिइरहनु भएको पनि छ । नेपालको कम्युनिस्ट पार्टीको एउटा नेता भएका हैसियतले उहाँले कोसिस गरिरहनु भएको छ’, थापाले भने, ‘यो भनेको त हरेक मान्छेको दायित्व हो । कम्युनिस्ट पार्टीमा लागेको एउटा नेताले यहाँको कम्युनिस्ट आन्दोलन फुटेको, छिन्नभिन्न भएको देखेको छ । कुनै बेला समाप्तिकै बाटोमा थियो । यस्तो अवस्थामा कम्युनिस्टलाई एक ठाउँमा ल्याउने भूमिका हरेक कार्यकर्ताको हुन्छ नि ।’ 

चीनको शुभेच्छाअनुसार नेपाली वाम दलले दिशा पक्रिएमा मिल्न सक्ने ठाउँ रहेको उनको भनाइ छ । ‘मिल्नुपर्छ, पार्टी नै मिलाउने कि, कार्यगत एकतामात्रै गर्ने कि, जसरी हुन्छ मिल्नुपर्छ’, उनले भने, ‘चीनले मिल्नै पर्छ भनेर निर्देशन दिएको छैन । तर म पनि अब जेजे गरे हुन्छ, नेपालको वामपन्थी आन्दोलाई एकता गरेर जानुपर्छ भन्ने विचारमा म दृढताका साथ अडिग छु ।’

भेटघाट 

नेपालबाट बेइजिङसम्म सिधै उडान नहुँदा भ्रमण टोलीलाई गत आइतबार बिहान ग्वान्चौमा स्वागत गरिएको थियो । ग्वान्चौमा राम्रो आतिथ्य पाएपछि भण्डारीले विगत भ्रमणको स्मरण गरिन् । उनले विगतमा मन्त्री र राष्ट्रपति हुँदा चीन आएको सम्झिइन् । यस पटक आफू नेपाली नागरिकका रुपमा चीन आएको बताइन् ।

टोलीलाई चीन सरकारले राजकीय आवास गृह दियालोथाईमा राखेको थियो । चीन पुगेकै साँझ चिनियाँ कम्युनिस्ट पार्टीले रात्रिभोज दियो । पूर्व राष्ट्रपति भण्डारीलाई विदेशी सरकार प्रमुखसरहको सम्मान र सुरक्षा र आवासगृह उपलब्ध गराएको थियो । 

जेठ १० गते राति काठमाडौंबाट ग्वान्चौ हुँदै बेइजिङ उत्रेकी पूर्व राष्ट्रपति भण्डारीले शनिबार महत्वपूर्ण र उच्चस्तरीय भेटवार्ता गरिन् । उनले गान्सु प्रान्तमा चीनका उपराष्ट्रपति हान चेङसँग वान टु वान भेटवार्ता गरेकी थिइन् । चेङ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेतामध्ये एक हुन् । चेङसँगको भेटवार्ता पूर्व निर्धारित नै भए पनि एकल वार्ता भने तय थिएन । सात सदस्यीय स्थायी कमिटीका पूर्व सदस्य चेङ सीपीसीमा आठौँ वरीयतामा छन् । 

सीपीसी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्चोओले पूर्व राष्ट्रपति भण्डारीसँगको भेटमा नेपालमा राजनीतिक स्थिरताको कुरा निकालेका थिए । उनले त्यसका लागि भण्डारीको नेतृत्वप्रति शुभेक्षा राखे । त्यहाँ उनले वामपन्थी पार्टीहरूबीचको एकताका लागि चिनियाँहरूको चाहना पनि अभिव्यक्त गरे । 

चेङले पूर्व राष्ट्रपति भण्डारीलाई भेटेपछि चीनले दिएको महत्व पनि खुल्यो । सरकार र एमाले दुवैको प्रतिनिधित्व गर्दै चीन गए पनि भण्डारीसँग अहिले कुनै सरकारी हैसियत छैन । तर पनि उनलाई उच्च सम्मान दिएर पठाएको छ । चीनमा रहँदा उनीहरूको विकासको आधार परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनबारे पनि बोलिन् । नेपालले सम्झौताअनुसार काार्यान्वयनमा चासो नदिएको, परियोजना अघि बढाउन ढिला गरेकोसहितका गुनासो गरेपछि उनले त्यसलाई सम्बोधनको कोसिस गरिन् ।
 
सन्देश

बेइजिङबाट भ्रमण दल अघिल्लो मंगलबार कान्सु प्रान्त  पुगेको थियो । त्यहाँ नेपाली टोलीले चिनियाँ नेताहरूसँग भेटवार्ताका साथै घुमघाम पनि गरेको थियो । कान्सुमा पूर्व राष्ट्रपति भण्डारीलाई मरुभूमिक्षेत्र देखाइएको थियो । त्यहाँ चीनले गरेको विकास र गरिबी निवारणका प्रयासको अनुभव नेपाली टोलीलाई बाँडिएको थियो । नेपालका शाक्यमुनी बुद्धसम्बन्धी धार्मिक क्षेत्र पनि घुमाइयो ।

पूर्व राष्ट्रपति भण्डारीको भ्रमणका बेला नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षगाँठ मनाइँदैछ । यो भ्रमणले नेपालसँगको सम्बन्धलाई सरकार, पार्टी र विकासमा पनि चीनले सहकार्य गर्न खोजेको आशयसहित चीनले सन्देश दिएको छ । त्यही आशयअनुसार भण्डारीले नेपाल–चीन सम्बन्धको विकास र सहकार्य विस्तारमा पनि जोड दिइन् । उनले चीनसँग सम्बन्ध बलियो बनाउने गरि सम्बोधन गरिरहँदा यता ओलीनिकट नेता कार्यकर्ता भने भण्डारीले पार्टीमा अनावश्यक चलखेल गर्न लागेको भन्दै विरोधको स्वर निकालिरहेका छन् । 

भण्डारीलाई बोलाएर चीनले नेपालमा राजनीतिक सन्देश दिएकोमा अब शंका रहेन, त्यो पनि कम्युनिस्ट पार्टी एक हुनेगरी । नेपालका कम्युनिस्टहरु मिल्दा पूर्व राष्ट्रपतिको नेतृत्वलाई स्वीकार्न सकिने सन्देश पनि बुझिने गरी दिएको उनीनिकटहरू बताउँछन् । 

त्यसअघि आइतबार बिहान बेइजिङ उत्रिनासाथ प्रमुख वक्ता बनाएर राजनीतिक संवाद कार्यक्रम राखियो । उक्त संवादपछि सीपीसीका विदेश विभाग प्रमुख लिउ चियानचाओसँग उनको वार्ता भयो । त्यही वार्ताबाट पनि चीनले नेपालमा कम्युनिस्ट एकताको पहिलो सन्देश दिइसकेको थियो । खासमा यसअघि नै ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित नेकपा असफल भएको सन्दर्भमा चीनले विकल्पका रुपमा भण्डारीलाई नेतृत्व मान्न सक्ने शुभेच्छा दिएको उनीनिकट एक नेताको तर्क छ ।

ओलीको प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग राम्रो सम्बन्ध छैन । यस्तो अवस्थामा भण्डारी नेतृत्वमा आए एमालेको लिगेसी भएका सबै नेता र माओवादीसमेत मिल्न सक्ने सम्भावना देखेरै यस्तो सन्देश दिएको उनको भनाइ छ । एमालेका वर्तमान महासचिव शंकर पोखरेलले भावी नेतृत्व लिन सक्ने क्षमता नदेखाएको हिसाब पनि निकालिएको छ । 

यो अवस्थामा एमालेको एघारौँ महाधिवेशनसम्म टुटेफुटेका कम्युनिस्टहरू भण्डारीको नेतृत्व स्वीकारेर मिल्न सक्ने केही नेताहरूको बुझाइ छ । चीनले नेपालमा स्थायित्वको नारा लगाइरहनुको कारण हिजो लामो समय राजसंस्थासँगको सहकार्यले पनि हुन सक्ने बताइन्छ । यस्तोमा भण्डारीको नेतृत्वमा कम्युनिस्ट मिले नेपालमा उनीहरूकै सत्ता आएर आफूले खोजे जस्तो स्थायित्व र थप सहकार्यका ढोका खुल्न सक्ने हिसाब चीनले लगाइरहेको छ । 

यता नेपालमा पनि भण्डारी एमालेको नेतृत्वमा आउने हो भने वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहितका नेता फर्किन सक्ने तर्क माथिल्लो तहका नेता र कार्यकर्ताले नै गर्ने गरेका छन् । चीनले पनि सम्भवतः त्यही कुरा बुझेर स्थायित्वको भित्री चाहानालाई भण्डारीमार्फत कार्यान्वयन गर्न खोजेका बुझ्‌न सकिन्छ । 

सन् २०२५ नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औँ  वर्ष हो । यो अवसरमा चीनले नेपालसँगको सम्बन्धलाई जनस्तरमै लैजाने कोसिस गरिरहेको छ । चीनले यसक्रममा भ्रमण आदानप्रदानलाई बाक्लो बनाएको छ । नेपालका दलहरूसँग सहकार्य बढाउने नीति लिएको छ । अर्कातिर बीआरआईसहितका विकास परियोजनामा हातेमालेलाई पनि चीनले मजबुत बनाउँदै लगेको छ । नेपालका वाम दलसहित नेपाली कांग्रेस, मधेसवादी र राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि सम्बन्ध विस्तार गरिरहेको छ ।

टिप्पणीहरू