आन्दोलन नरोकेसम्म ज्ञानेन्द्रहरुले सुरक्षा नपाउने
पूर्वपञ्चहरुको पार्टी राप्रपाका नेताहरुले राजा फर्काउने आन्दोलन नरोक्दासम्म अंगरक्षक (पिएसओ) नपाउने भएका छन् ।
गृह मन्त्रालयले जेठ १३ गते संसदीय दलका सचेतक ज्ञानेन्द्र शाही, संसदीय समितिका सभापति दीपकबहादुर सिंह, पूर्वआइजीपीसमेत रहेका सांसद ध्रुबबहादुर प्रधानले पाउँदै आएको पिएसओ सुविधा फिर्ता लिएको थियो । त्यसबारे स्पष्ट पार्दै गृहमन्त्री रमेश लेखकले आन्दोलन रोकेपछि मात्रै पुनः पिएसओ खटाइने जानकारी गराएका हुन् ।
आज बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बेठकमा राप्रपा सांसद बुद्धिमान तामाङले पिएसओ फिर्ता बोलाउनुको कारणबारे सोधेका थिए । जवाफ दिँदै दिदै गृहमन्त्रीले आन्दोलनमा सुरक्षा व्यवस्थापनको लागि पर्याप्त जनशक्ति खटाउनुपर्ने भएकाले फिर्ता बोलाइएको बताए ।
आन्दोलनमा सहभागी भएका बेला पनि पिएसओ खटाउँदा संयन्त्र परिचालनमा समस्या हुने गृहमन्त्रीको भनाइ छ। ‘तपाईहरुले गर्ने आन्दोलनको लागि सुरक्षा बढी चाहियो, ती (अंगरक्षक) सुरक्षाकर्मीहरुलाई तत्कालको लागि यताको पक्षबाट सुरक्षा दिन राखिएको हो’, उनले भने, ‘यदि ती आन्दोलन र घटना भएनन् भने उहाँहरूको सुरक्षा पुनः स्थापिन गरिन्छ ।’
गृहमन्त्री लेखकले संविधान मासेर मुलुकलाई अन्धकारतर्फ धकेल्ने प्रयास नगर्न राजावादीहरुलाई आग्रहसमेत गरे । ‘गणतन्त्र फाल्न मिल्दैन/ हुँदैन, त्यसका लागि हुने प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ’, उनले भने ।
उता राजावादीहरु भने आन्दोलन थप चर्काउने रणनीतिमा छन् । जेठ १५ गतेयता पाँच दिन लगातार प्रदर्शन गरेका उनीहरूले आज दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दैछन् ।
सरकारले काठमाडौँ उपत्यकाका अधिकांश ठाउँमा निषेधित क्षेत्र घोषणा गरेपछि आगामी आन्दोलनका कार्यक्रम तय गर्न दिउँसो २ बजे 'संयुक्त जनआन्दोलन समिति' को बैठक बस्दैछ । बैठकले एक हप्ताको आन्दोलनको समीक्षा गर्ने र आन्दोलनका नयाँ कार्यक्रम तय गर्ने बताइएको छ ।
टिप्पणीहरू