राजावादी भेलामा महिला नेत्रीहरुको रुवावासी
राजा फर्काउने आन्दोलनको नयाँ कार्यक्रम बनाउन जुटेका राजावादीहरु आ-आफैँ झगडा गरेका छन् । धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा आज अपराह्न बसेको 'संयुक्त जनआन्दाेलन समिति' काे बैठकमा राप्रपाकल अध्यक्ष राजेन्द्र लिङ्गदेनको अनुपस्थितिलाई लिएर सहभागीहरुले प्रश्न उठाएपछि झगडा परेको हो ।
राप्रपा,नेपालका अध्यक्ष कमल थापा बोल्दाबोल्दै राजावादी कार्यकर्ताले होहल्ला गरेका थिए । आफूहरु घर परिवार सबै छोडेर काठमाडौँ आएको तर नेताहरुले आन्दोलन अगाडि बढाउन नसकेको उनीहरुको गुनासो थियो । त्यस क्रममा राजावादीहरुको सबैभन्दा ठूलो र वैधानिक शक्ति राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनप्रति केही महिलाले आक्रोश पोखेका थिए। आफूहरुलाई काठमाडौँ बोलाएर बिचल्ली पारेको भन्दै केही महिला भन्दै थिए, 'हामी घर परिवार त्यागेर मर्न र मार्न भनेर आएका हौँ,तर तपाईंहरु आन्दोलन तुहाउने हो ?"
कार्यकर्ता होहल्ला गर्न थालेपछि थापाले त्यहीँ प्रतिवाद गरेका थिए । यस्तो पाराले बैठक नचल्ने भन्दै उनले भने-"तपाईंहरु हल्ला गर्ने हो भने म बोल्दिन,जे मन लाग्यो त्यही गर्नुस् ।’ तर पनि हल्लाखल्ला नरोकिएपछि समितिका संयोजक नवराज सुवेदीले बैठक स्थगित भएको घोषणा गरे ।
'हामी घर परिवार त्यागेर मर्न र मार्न भनेर आएका हौँ,तर तपाईंहरु आन्दोलन तुहाउने हो ?"
आजको बैठकमा संयोजक सुवेदी र थापासहित राप्रपा महामन्त्री राजेन्द्र गुरूङ,राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट,विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीलगायत ४५ वटा संघ संगठनका प्रतिनिधि सहभागी थिए । आन्दोलनको भावी रणनीति बनाउन बसेको बैठकमा सामान्य कार्यकर्तादेखि धर्म गुरुको भेषमा सडकमा ढुंगा हान्नेहरु र युटुबरसम्मलाई भित्र छिर्न दिइएको थियो । जसका कारण व्यवस्था पल्टाउन बसेको बैठक भेडीगोठजस्तो बनेको थियो ।
'पहिलो चरणको आन्दोलनको समीक्षासहित दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बैठक बोलाइएको थियो । आन्दोलनको रणनीति बनाउन गोप्य बैठक बस्नुपर्नेमा खुला गरियो,भीड राखेर बैठक गरेकाले होहल्ला भएको हो', राप्रपाका एक नेताले भने ।
राजेन्द्र लिङ्गदेनबारे उठेको प्रश्नमा उत्तेजित हुन नहुने तर्क उनले गरे । व्यवस्थाविरुध्द सघर्ष गरिरहेको पार्टीले आन्दोलनलाई भन्दा संसद बैठकलाई प्राथमिकता दिन हुँदैन भन्ने कार्यकर्ताको भावनाको सम्मान हुनुपर्ने भनाइ ती नेताले राखेका छन् ।
यता, राप्रपाका केही नेता र सांसदले राज्यबाट लिइरहेको सुरक्षा सुविधा गृह मन्त्रालयले खोसेको छ । आन्दोलन नरोक्दासम्म उनीहरुलाई अंगरक्षक (पिएसओ) नदिने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
गृहले जेठ १३ गते संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही, संसदीय समितिका सभापति दीपकबहादुर सिंह, पूर्वआइजीपीसमेत रहेका सांसद ध्रुबबहादुर प्रधान, पूर्वमन्त्री बुद्धिमान तामाङलगायतले पाउँदै आएको पिएसओ सुविधा फिर्ता लिएको थियो । अर्का पूर्वमन्त्री तथा ठेकेदार सांसद विक्रम पाण्डेले भने पिएसओ लिएरै हिंडीरहेका छन् ।
पिएसओ फिर्ता गरेकोमा ज्ञानबहादुरले हालै सरकारको चर्को निन्दा गरेका थिए । तर, राप्रपाका उनै नेता भने अगाडि पछाडि प्रहरी लिएर फुर्तिफार्ती गर्दै हिँड्ने कुराले आन्दोलन नउठ्ने मत राख्छन् ।
टिप्पणीहरू