कमल थापाहरुलाई भगाएर राजावादी युवाको छुट्टै बैठक, लिङ्गदेनहरुबाट पार नलाग्ने निष्कर्ष

कमल थापाहरुलाई भगाएर राजावादी युवाको छुट्टै बैठक, लिङ्गदेनहरुबाट पार नलाग्ने निष्कर्ष

नवराज सुवेदी नेतृत्वको समितिले आन्दोलनको सही नेतृत्व र मार्गचित्र तयार पार्न नसकेको भन्दै राजावादी युवाहरुले आक्रोश पोखेका छन् । आन्दोलनको नयाँ रणनीति तय गर्न आज दिउँसो बसेको बैठकमा होहल्ला गरेका असन्तुष्ट युवाहरुले छुट्टै भेलासमेत गरेका छन् ।

 सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो साढे २ बजे बैठक शुरु भएको थियो । समितिका संयोजक सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति पार्टीका केशरबहादुर विष्ट लगायत बैठकमा सहभागी थिए । तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने उपस्थित थिएनन् ।

करिब आधा घण्टा विभिन्न राजावादी समूहका नेताहरुले आन्दोलनकाे नयाँ रणनीतिबारे आ-आफ्नो धारणा राखे । त्यतिकैमा उद्घोषकले राप्रपा अध्यक्ष लिङ्देन संसद बैठकको समय सारिएको (तीन बजे) कारण देखाउँदै सहभागी हुन नसक्ने जानकारी गराए । त्यसपछि केही युवाहरुले प्रश्न गरे, ‘संसद चाहिने भए किन राजावादी आन्दोलनमा लागेको त ?’

राप्रपा नेपालका अध्यक्ष थापा बोल्ने बेला झन् युवाहरुले होहल्ला गरेपछि उनी झोक्किएर नबोली हिँडे । लगत्तै संयोजक सुवेदीले आजै साँझ आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक हुने जानकारी दिदैँ बैठक सकिएको घोषणा गरे, र उनी पनि उठेर हिँडे । 

युवाहरु भने त्यसपछि पनि होहल्ला गर्न छाडेनन् । ‘यो पाराले आन्दोलन हुँदैन’ भन्दै हलबाहिर निस्किएर पत्रकार सम्मेलन गरे । र, एकछिनपछि पुनः सोही हलमा छिरेर बैठक बसे । त्यतिन्जेल राजावादी नेताहरु भने पार्टी प्यालेसबाट आ-आफ्नो बाटो लागिसकेका थिए । 

बैठकपछि राजावादी युवाहरुले अब बुढाहरुबाट आन्दोलनको नेतृत्व हुन नसक्ने निष्कर्ष निकालेका छन् । एक राजावादी युवाले भने, ‘वास्तवमा राजसंस्था कुहाउने नै यिनीहरु हुन् । कमल थापाले राप्रपालाई संगठित गर्न नसक्दा, राजसंस्थाको एजेण्डालाई यथावत राख्न नसक्दा नै पतन हुन पुगेको हो, गणतान्त्रिक दलहरुसँग साठगाँठ गरेर कहिले उपप्रधानमन्त्री बन्ने, कहिले मन्त्री बन्ने, यसरी नै राजसंस्था सकिएको हो, अब राजसंस्था फर्काउन त्यो तरिकाले हुँदै हुँदैन ।’

आजको बैठकमा देखिएको लफडायुक्त दृश्यले राजावादीहरु विभाजित हुने प्रष्ट संकेत देखिएकाे छ । बुढा नेताप्रति युवाहरु आक्रोशित बनेका छन् भने आफै नयाँ ढंगबाट अघि बढ्ने उनीहरुको तयारी देखिन्छ । 

उता, समितिले भने भर्खर एक विज्ञप्ति जारी गरेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । दिउँसो बैठकमा भाँडभैलो भएपछि नबोली हिँडेका संयोजक सुवेदीले सात बुँदे कार्यक्रम सार्वजनिक गरेका हुन् । जसमा काठमाडौँ उपत्यकाको प्रदर्शनलाई जारी राख्ने र विभिन्न शहरहरुमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गर्ने उल्लेख छ ।

टिप्पणीहरू