एमाले कर्मचारीद्वारा आन्दोलनको चेतावनी

एमाले कर्मचारीद्वारा आन्दोलनको चेतावनी

नेकपा (एमाले) सम्वद्ध नेपाल निजामती कर्मचारी संगठनले तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न माग गरेको छ । 

संगठनको दोस्रो केन्द्रीय बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उक्त मागबारे जानकारी गराइएको हो । सरकारको नेतृत्व गरिरहेको एमालेमा आस्थावान कर्मचारी संगठनले उक्त व्यवस्थासहितको कर्मचारी तथा ट्रेड युनियनमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न पनि ध्यानाकर्षण गराएको छ । 

संगठनले अघि सारेका माग पूरा नभए चरणवद्ध आन्दोलन अगाडि बढाउने बैठकले निर्णय गरेको जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले कार्यालय सहयोगिदेखि मुख्यसचिवसम्मको आवाज उठाउँदै आएको बताईन् ।  नासुहरुको माग पुरा गर्नको लागि मात्र आफूहरु आन्दोलित नभएको उनले स्पष्ट पारिन् ।

‘नेपाल कर्मचारी निजामति कर्मचारी संगठन कार्यालय सहयोगिदेखि मुख्यसचिवसम्मको आवाज उठाउने संगठन हो । हामीले ट्रेड युनियन अधिकार प्राप्त गर्दैगर्दा उपसचिवसम्म दिनेगरी संकल्प प्रश्ताव पारित भएको थियो । आज हामीले कार्यालय सचिवको पनि कुरा उठाउनुपर्छ । मुख्य सचिवको पनि कुरा उठाउनुपर्छ’ , उनले भनिन्, ‘हामीले आज नासुको कुराको लागि मात्रै आन्दोलन गरेको होइन सबैले स्पष्ट हुुनुपर्छ । हामीले विगतमा उठाएका ८५ बुँदे माग अगाडि सारेर आन्दोलनमा उत्रिएका हौँ । निजामति कर्मचारीको तीन वर्षदेखि तलब बढेको छैन । राष्ट्र बैंकले चार प्रतिशत महंगी बढेको देखाएको छ । हामी यसकाविरुद्ध पनि आन्दोलनमा गर्न बाध्य भएका हौँ ।’ 

कुनैपनि पदमा ५ वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र १० वर्ष सोभन्दा बढी सेवा गरी योग्यता पुगेकालाई एक श्रेणी बढुवा गर्नुपर्ने संगठनको माग छ । सरकारले संसदको यही अधिवेशनबाट संघीय निजामति सेवा विधेयक पारित गर्ने तयारी गरेको छ ।

टिप्पणीहरू