रविन्द्र र धवलका निजी सचिव र वकीललाई आपत
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा बेपत्ता भएपछि उनीहरुका निजी सचिव र वकील फन्दामा परेका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त भनिएका दुबै जना प्रहरीको सम्पर्कमा नआएपछि उनीहरुका निजी सचिव र वकीललाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
सर्वोच्च अदालतको आदेशपछि मिश्रलाई उनका स्वकीय सचिव र धवललाई उनका वकीलले जिम्मा लिएका थिए । स्वास्थ्य उपचारका लागि मिश्रभन्दा पहिले राणा छुटेका थिए ।
प्रहरीका अनुसार हिजोदेखि जिल्ला अदालत काठमाडौंमा सुरू भएको उनीहरुविरुद्धको थुनछेक बहसमा दुवै जना अनुपस्थित छन् । उक्त मुद्दामा एक सय ८ जनालाई प्रतिवादी बनाइएको छ तीमध्ये ३९ जना हिरासतमा छन् ।
राणा क्यान्सरको उपचारका लागि भन्दै जमानीमा छुटेपछि भारत गएर फर्केका थिए । त्यसपछि मिश्र र राणा दुबै बेपत्ता भएका हुन् ।
टिप्पणीहरू