घुस र प्रेमिका

त्रिभुवन विमानस्थलमा पक्राउ परेका गृह मन्त्रालयका कर्मचारी तीर्थ भट्टराईले प्रेमिकाको नाममा पैसा जम्मा गरेका रहेछन् । घुसबापत आएको जम्मै रकम आफ्नो खातामा जम्मा नगरी प्रेमिकाको नाममा खोलिएको खातामा राख्ने रहेछन् । कर्मचारीले प्रेमिकाको नाममा पैसा जम्मा गर्छन् भन्ने पनि एउटा नयाँखाले नै समाचार हो । उनले घुसको पैसा लुकाउन प्रेमिकाको नाममा जम्मा गरेका हुन् वा प्रेमिकालाई खुशी पार्न प्रेमिकाको खातामा पैसा हालेका हुन्, यो अर्को छानबिनको विषय हुन सक्छ ।
तर, यी राष्ट्रसेवकज्यूले घुसको पैसा प्रेमिकाको नाममा हालेबाट एउटा कुरा भने उजागर भएको छ कि उनीे आफ्नी श्रीमतीलाई भन्दा पनि प्रेमिकालाई बढी माया गर्दारहेछन् । तलबको पैसा श्रीमतीको खातामा, घुसको पैसा प्रेमिकाको खातामा । यसैबाट थाहा हुन्छ, उनी श्रीमतीलाई होइन, प्रेमिकालाई बढी माया गर्दा रहेछन् ।
यो नयाँ खुलासाले उनको गृह मन्त्रालय मात्र होइन, गृहस्थी पनि डाँवाडोल हुने खतरा छ । अर्थात दुबैतिरको गृहबाट खतरा छ । किनभने घुसको पैसा प्रेमिकाको नाममा हाल्नु भनेको घुस खानुभन्दा पनि ठूलो अपराध हो । घुस खाएवापत दण्डित हुने त छँदैछ । घुसको पैसा प्रेमिकाको खातामा हालेका कारण त्योभन्दा पनि ठूलो दण्ड पाइने खतरा छ । यो खतराबाट चाहिँ उनलाई विशेष अदालतले पनि बचाउन सक्दैन ।
टिप्पणीहरू