माधव विरुद्धको मुद्दामा प्रचण्डको गम्भीर आशंका, काँग्रेस सभापति ‘बेखबर’
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि प्रतिशोध साँधिएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा हिजो तत्कालीन प्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि प्रचण्डले उक्त आशंका गर्नुभएको हो ।
उहाँले आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै डिजाइनमा नेपालविरुद्ध मुद्दा दायर भएको हुनसक्ने बताउनुुभयो । ‘प्रधानमन्त्रीजीमा राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ’, उहाँले संक्षेपमा भन्नुभयो, ‘अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्मायो ।’
नीतिगत निर्णयको विषय अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर भएको प्रचण्डको भनाई छ । ‘माधवजीले गरेको पनि नीतिगत निर्णय नै हो, अख्तियारले त्यही विषयमा प्रवेश गरेर मुद्दा लगाइहाल्नुपर्ने के कारण हो त ?’, उहाँको प्रश्न छ ।
अध्यक्ष प्रचण्डले विपक्षीलाई तर्साउन र राजनीतिक पूर्वाग्रह राखेर नेपालमाथि मुद्दा लगाइएको दाबी गर्नुुभयो । हिजो नेपालविरुद्ध मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको फोनवार्ताबारे जानकारी दिँदै विस्तृतमा भन्नुभयो, ‘देउवाजी आफैंले हिजो फोन गर्नुभएको थियो । माधवलाई मुद्दा लगाएछन्, कुरा के हो ? भनेर सोध्दै हुनुहुन्थ्यो । त्यसपछि म आश्चर्यमा परेँ । मैले पनि बरु तपाईंलाई थाहा हुनुपर्ने त भनेँ, उहाँलाई केही थाहै रहेनछ । भनेपछि देउवासँग सल्लाह नगरी यो विषय रचिएको रहेछ ।’
टिप्पणीहरू