युवा फकाउँदै राजावादी समूह
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले अस्ति विज्ञप्ति जारी गरेर राजधानी केन्द्रित आन्दोलनलाई देशभर फैलाउने घोषणा गर्यो । प्रमुख शहरहरुमा गणतन्त्रविरुद्ध जनसभा गर्ने भनिएको छ । तर कहिले र कहाँ गर्ने ? मिति र स्थान सार्वजनिक गरिएको छैन ।
उक्त पृष्ठभूमिमा राजावादी नेताहरुले आन्दोलनको रुपरेखा बनाउनै नसकेका हुन त ? कतिपयमा जिज्ञासा भैरहँदा समितिका प्रवक्ता स्वागत नेपाल भन्छन्, ‘त्यस्तो होइन, नेताहरु छलफलमा हुनुहुन्छ ।’
त्यसो त, प्रवक्ता नेपाल स्वयम् एउटा धार्मिक कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् । र, उनले हिन्दु अधिराज्य घोषणाको लागि दबाब सिर्जना गर्न राजावादीहरुलाई भोलि दिउँसो ३ बजे चिप्लेढुंगामा उपस्थित हुन अपील गरेका छन् । कार्यक्रमको आयोजक भने आन्दोलन समिति होइन । त्यसोभए को हो त ? भन्ने प्रश्नमा प्रवक्ता नेपाल भन्छन्,‘यो एउटा धार्मिक संस्थाको कार्यक्रम हो, मलाई निम्तो भएकाले पोखरा आएको हुँ ।’
नेपालका अनुसार समिति संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरुले आन्तरिक छलफलबाट आन्दोलनको मिति र समय तय गर्ने प्रयास गरिरहेका छन् । ‘उहाँहरु स्वयं पनि विभिन्न शहरमा पुग्ने गरी कार्यक्रमहरु तय हुँदैछन्, त्यसैले उहाँहरुले आफ्नो समय मिलाउनको लागि एक दुई दिन ढिला भएको हो, केही दिनमै दोश्रो चरणको आन्दोलन सुरु हुन्छ’, उनले भने ।
उता अर्का राजावादी नेताले भने आन्दोलन समितिभित्रै असन्तुष्टी बढेको बताएका छन् । ‘तपाईंहरुको छलफलबाट आन्दोलनको कार्यक्रम तय नहुँदो रहेछ, अस्तिको बैठकमा देखियो, खासमा कसले चाहीँ बनाउँछ आन्दोलनको कार्यक्रम ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अध्यक्ष (लिङदेन)ज्यू र संयोजक (सुवेदी)ज्यूकै परामर्शमा तय भइरहेको छ, तर अहिले चाहीँ परिदृश्य फरक बन्दै गइरहेको छ, खासगरी युवाहरु एक्सनसहितको आन्दोलन चाहिरहेका छन्, तर नेताहरु त्यसको लागि तयार छैनन् । यो फरक विचारको कारण पनि अहिले आन्दोलनको मिति र स्थान तय गर्न कठिन भएको हो ।’
संयोजक सुवेदी र अध्यक्ष लिङ्देनलले सकेसम्म युवाहरुलाई फकाएर आन्दोलनको रणनीति बनाउने पक्षमा रहेको पनि ती नेताले जानकारी दिए ।
टिप्पणीहरू