ट्रम्प र मस्कबीचको तिक्तता,अन्तरिक्ष अभियानमा रिक्तता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चुनावी अभियानदेखि विभिन्न योजनामा उनका दाहिने हात मानिएका विश्वका सबैभन्दा धनी एलन मस्कबीचको तिक्तता निकै गहिरिएको छ । सरकारी जिम्मेवारीबाट हटेपछि ठुस्किएका मस्क र राष्ट्रपति ट्रम्पबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । यसले मस्कको व्यवसायमा धक्का पुग्ने निश्चत छ,सँगसँगै अमेरिकी अन्तरिक्ष अभियानमा पनि ठूलै असर पुग्ने अनुमान गर्न थालिएको छ ।
मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले सरकारसँग गरेको २२ अर्ब अमेरिकी डलरको सम्झौता बेवारिस बन्ने पक्का छ । यसबाट अमेरिकी अन्तरिक्ष अभियान पनि अवरुद्ध हुने सम्भावना बढेको छ ।
गत हप्तादेखि ट्रम्पको कर कटौती र खर्च कानूनबारे मस्कले गरेको आलोचना एकाएक नयाँ क्षितिजमा पुगेको छ । राष्ट्रपतिले ह्वाइट हाउसको ओभल अफिसमा बोल्दै मस्कमाथि अनेक आरोप लगाए । त्यसपछि एक्स पोष्टहरूमा मस्कले ट्रम्पमाथि नसोचेका आरोप र चेतावनी दिए । उता ट्रम्पले मस्कका सबै कम्पनीसँग गरिएको सम्झौता रद्ध गर्न निर्देशन दिइसकेका छन् ।
मस्कले पनि व्यावसायिक अन्तरिक्ष यानको रुपमा अघि सारेका ड्रयागन स्पेसक्राफ्टबाट हात झिक्ने बताइसकेका छन् । नासासँग गरिएको पाँच अर्ब डलरको सम्झौताअनुुसार ड्यागन क्याप्सुल एजेन्सीको एकमात्र अमेरिकी अन्तरिक्ष यात हो । यसबाट अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लैजाने ल्याउने कार्यक्रम बनाइएको छ ।
गत हप्तासम्म संघीय सरकारको आकार र खर्च घटाउने पहलको नेतृत्व गरेका मस्कले ट्रम्पको साथ छाडिसकेका छन् । राष्ट्रपतिले राजनीतिक प्रतिशोधलाई प्राथमिकता दिँदै नासा र पेन्टागनसँग भएका अरबौं डलरको स्पेसएक्स सम्झौता रद्द गरेको अवस्थामा अमेरिकी अन्तरिक्ष प्रगतिलाई पछाडि धकेल्ने अनुमान गरिएको छ ।
मस्कले आफ्नो व्यवसायलाई दाउमा राखेर ट्रम्पलाई चुनावमा जिताउन दिनरात खटेका थिए । उनले ट्रम्पको चुनावमा सार्वजनिक रुपमा २८ करोड ८० लाख डलर सहयोग गरेका थिए । अहिले उनको विश्व प्रख्यात टेस्ला गाडीको व्यापार ओरालो लागिसकेको छ भने स्टारएक्समा विभिन्न अवरोध देखिएको छ ।
खर्च कटौतीमा ट्रम्पभन्दा अघि बढेर गरेका कतिपय अलोकप्रिय निर्णयका कारण सरकारी कर्मचारीहरु उनीसँग रिसले आगो छन् । रिपब्लिकनका ट्रम्पलाई ज्यान फालेर समर्थन गरेका कारण डेमोक्र्याटहरु पनि उनीसँग खुशी छैनन् । यसअघिका डेमोक्रयाट सरकारले नै उनको विद्युतीय गाडी निर्माता कम्पनी टेस्लालाई कर छुट र अनुदान दिएको थियो । त्यसबाट विश्वभर प्रख्यात गाडी टेस्लाको व्यापारबाट थुपारेको धन ट्रम्पको चुुनावमा खर्चिएपछि उनीहरु झन् रिसले आगो भएका हुन् ।
यी दुईबीचको तिक्तता आफूहरुले एक अर्कालाई गरेको सहयोगको खोइरो खन्दै सामाजिक सञ्जालमा लेखिएको छ । आफूले सहयोग नगरेको भए ट्रम्पले चुनाव हार्ने भन्ने मस्को दाबीलाई राष्ट्रपतिले यसरी जवाफ फर्काएका छन् । ‘बाइडेनले नगरेको काम हामीले गरिदिएका छौं । मस्कको कम्पनीलाई दिइएको अनुदान र गरिएको अर्बौं डलरको सम्झौता रद्धपछि मुलुकको बजेटमा ठूलो रकम बचत हुनेछ ।’
टिप्पणीहरू