बूढानीलकण्ठको छलफलमा माधवको प्रसङ्ग, जिद्धी नगर्न देउवाको सुझाव

बूढानीलकण्ठको छलफलमा माधवको प्रसङ्ग, जिद्धी नगर्न देउवाको सुझाव

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको विषयले प्रवेश पाएको छ । संसदको अवरोध हटाउनेबारे छलफल गर्न अध्यक्ष प्रचण्ड हिजो साँझ देउवा निवास (बूढानीलकण्ठ) पुग्नुभएको थियो । दुई पूर्वप्रधानमन्त्रीबीच भएको झण्डै डेढ घण्टाको छलफलमा अर्का पूर्वप्रधानमन्त्री नेपालविरुद्धको भ्रष्टाचार मुद्दा दर्ताको विषयले पनि प्रवेश पाएको हो । 

स्रोतका अनुसार भेटमा प्रचण्डले ‘केपीले किन यसो गर्न खोजिराख्या छन्?’ भन्दै जिज्ञासा राख्नुभएको बताइन्छ । जवाफमा देउवाले ‘मलाई पनि थाहा छैन !’ भन्नुभएको हो ।  ‘भेटको मुख्य एजेण्डा त सदन कसरी अघि बढाउने भन्ने नै थियो, तर शीर्ष नेताहरु भेट भएपछि अर्को शीर्ष नेताको प्रसंग निस्किहाल्यो’, छलफलबारे जानकार स्रोत भन्छ, ‘अध्यक्ष (प्रचण्ड) ले माधवजीलाई बुढेसकालमा किन दुख दिन खोज्या होलान् ? प्रधानमन्त्री (०६६ सालमा) बन्नु नै उहाँको गल्ती हो त ? भन्दै देउवासमक्ष कुरो कोट्याउनुभयो ।’

सभापति देउवाले पनि ‘प्रधानमन्त्रीले मसँग केही कुरा गरेका छैनन्’ भन्ने प्रतिक्रिया दिनुभएको थियो । सोही स्रोत भन्छ, ‘उहाँ (देउवा)लाई माधव नेपालविरुद्ध मुद्दा दर्ता हुन लागेको कुनै सन्देश र संकेत रहेनछ, यहाँले अध्यक्षज्यूसँग कसम नै खाएर माधवको विषयमा केही थाहा छैन भन्नुभयो ।’ 

छलफलमा प्रचण्डले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको सुनिश्चितता गर्न÷गराउन पनि देउवालाई आग्रह गर्नुभयो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दागर्दै अर्को छानबिन समिति बनाउँदा गलत सन्देश जाने भन्दै देउवाले अरुची जनाउनुभएको बताइन्छ । ‘अध्यक्षज्यूले अरु विपक्षी दलहरुको पनि सवाल छ, छानविनको सुनिश्चितता भयो भने भोलिदेखि नै सदन अघि बढ्छ भन्नुभयो’, स्रोतले थप्यो, ‘तर देउवाजीले त्यसमा खासै रूची देखाउनुभएन, त्यसो नगरौँ, अख्तियारले गरिरहेकै छ, जिद्धी नगर्नुस् भन्नुभयो ।’
 

टिप्पणीहरू